|  

 विप्लवको सम्झौताले उब्जाएको प्रश्न                                                                                                                  

२२ फाल्गुन २०७७, शनिबार २०:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


उद्वव कार्की गजुरी ८ धादिङ  हाल डेनमार्क                                                                                    नेपालमा नयाँ राजनीतिक परिघटनाहरु प्रायः नाटकिय ढंगले नै हुने गरेका छन्। यसै सिलसिलामा हिजो नेकपा विप्लव समूह र नेपाल सरकारबीच तीनबुॅदे सहमतिमा हस्ताक्षर भयो । यसले अत्यन्तै तरल अवस्थामा रहेको हालको नेपालको राजनीतिमा पक्कै पनि अर्को एउटा आयाम थपेको छ । साथै संसद विघटन र सर्वोच्चद्वारा उक्त विघटनलाई उल्टाइदिए पछि विकसित राजनीतिक घटनाक्रमहरुको परिप्रेक्ष्यमा प्रधानमन्त्री के पी ओलीको छिटो छिटो राजनीतिक तरंगहरु सिर्जना गर्ने अनि त्यो हल नहुॅदै फेरि अर्को तरंग सिर्जना गरेर विषयान्तर गर्दै पुरानो मुद्दाबाट समाधानविनै उम्कने रणनीतिक प्रवृत्तिको अर्को एउटा कडीको रुपमा पनि बुझ्न सकिन्छ यसलाई।
यस भित्र जे जे राजनीतिक तिकडमहरु लुकेको भए पनि खुसीको कुरा यो हो कि देशमा अब कम्तीमा पनि तत्काललाई हिंसात्मक राजनीति रहेन र कसैले पनि राजनीतिक आस्थाको लागि जीवन सिधा दाउमा राख्नु पर्ने छैन । तर विप्लवको आन्दोलनले वा यो सम्झौताले देश र जनताकोलागि राजनीतिक, आर्थिक, सामाजिक कुनै क्षेत्रमा रत्तीपनि योगदान गरेको छैन भलै यसमा विप्लव लगायत केही व्यक्तिहरूलाई वैयक्तिक लाभको ग्यारेन्टी पर्दाभित्र गरियो होला । त्यो समय क्रममा खुल्दै जाला। जनयुद्धलाई बदनाम गराउन सबैभन्दा बढी जुन पात्र प्रयोग भयो त्यही पात्र लगभग अस्ताउँदो क्षणमा आइपुग्दा उसैसॅग हठात सम्झौता गर्न आइगुग्नु पक्कै पनि रहस्यमय छ। साथै यसले प्रचण्डसॅग विप्लवले गरेको विद्रोह साँच्चै क्रान्ति प्रतिको निष्ठा थियो त भन्ने गम्भीर प्रश्न पनि उठाएको छ।
यो घटनाले जो परिवर्तनको सपना बोकेर जनयुद्धमा होमिएका थिए ती सम्पूर्ण सहिद, वेपत्ता, घाइते तथा उत्पीडनबाट मुक्ति पाउने आसा बोकेका जनताको मनमा फेरि एउटा नमिटो तरंग पनि उब्जाएको छ। प्रचण्डलाई गाली गर्दै यो या त्यो बहानामा पार्टी फुटाउँदै क्रान्ति वा नयाँ राजनीतिक धार भनेर हिॅड्नेहरुको औचित्य कुनै पनि कोणबाट पुष्टि हुन सकिरहेको छैन र हुँदैन पनि। यसले केवल जनयुद्धको उपलब्धि र आन्दोलनलाई क्षति पुर्‍यायो, जनयुद्धलाई बदनाम गराउॅदै नेपाली समाजको अग्रगामी रुपान्तरणलाई रोक्ने प्रतिगामीहरुको षडयन्त्रलाई सफल बनायो।
सारा प्रतिगामीहरुको षडयन्त्र र निरन्तर प्रहारको जबर्जस्त प्रतिरोध गर्दै जेनतेन प्रचण्ड चलिराखेका छन् र क्रान्तिकारी भन्नेहरु अनि स्वयं प्रतिगामीहरुलाई पनि जनयुद्धका शहीद, वेपत्ता र घाइतेहरु प्रति गोहीको आँसु बगाउने बाहाना मिलेको छ। यसले अझै पनि प्रचण्डनै जनयुद्ध र त्यसले उब्जाएका सपनाहरुको अविभावक हुन् भन्ने पुष्टि गर्दै गइरहेको छ। त्यसैले यदि जनयुद्धबाट आएका नेता र शक्तिहरूले साँच्चै देश र जनता प्रति इमानदारीता देखाउने हो भने सबैले आ-आफ्नो कमी कमजोरीको समीक्षा गर्दै फेरि पनि जो जुन पृष्ठभूमिमा पुगेको भए पनि प्रचण्डसॅगै एउटै घेरामा गोलबद्ध भएर जनतालाई देखाएको बाँकी सपना पुरा गर्ने जिम्मेवारी बोक्नु सक्नुपर्छ । त्यसको लागि स्वयं प्रचण्ड लगायत सबैले आत्मसमीक्षाको साथ सच्चिनु र त्याग गर्न जरुरी छ। हैन भने दशकौॅ सम्म देश र जनताले भोगेको दुःख, सहिदहरुको वलिदान त खेर जान्छ नै साथै जनयुद्धबाट आएका सबै नेताहरु कि त प्रतिगामीहरुकै नोकर बन्नु पर्यो हैन भने ढिलो चाँडो आफू सिद्धीन तयार हुनुपर्यो।

२२ फाल्गुन २०७७, शनिबार २०:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस