|  

अर्जेन्टिना र कोलम्बियाको ‘रोमाञ्चक’ भिडन्त हुँदै !

३२ जेष्ठ २०७६, शनिबार २२:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ , जेठ ३२
ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका फुटबलको दोस्रो दिन ब्राजिलको स्थानीय समयअनुसार आज राति दुई खेल हुँदैछन् । जसमा समूह ‘ए’बाट भेनेज्वेला र पेरु भिड्दा समूह ‘बी’बाट अर्जेन्टिना र कोलम्बियाको भिडन्त हुनेछ । पहिलो खेल नेपालको स्थानीय समयअनुसार भने आज राति (आइतबार बिहान राति) १२ः४५ बजेबाट सुरु हुनेछ । यी दुवै टिमको यो पहिलो खेल हो ।

त्यसपछि दोस्रो खेल नेपालको स्थानीय समयअनुसार भोलि (आइतबार) बिहान राति ३ः४५ बजेबाट सुरु हुनेछ । यो खेल धेरैका लागि प्रतीक्षाको खेल बनेको छ ।

किनभने, यी दुवै टिम यसपटक उपाधि दाबेदार छन् । र, दुवै टिममा स्टार खेलाडी छन् । अर्जेन्टिनामा लिओनल मेस्सी भएकाले पनि यो खेल धेरैका लागि आकर्षणको खेल बन्नेछ ।

आज अर्जेन्टिनाको टिममा मेस्सीसँग सर्जियो अगुइरो, पाउलो डिबाला, एन्जल डि मारियालगायत प्रमुख खेलाडी हुनेछन् भने कोलम्यिबाको टिममा हामेस रोड्रिग्वेजm, फाल्काओ, जुआन काउडराडो, येरी मिनालगायत खेलाडी हुनेछन् ।

यसपटक मेस्सीको टिम अर्जेन्टिनालाई उपाधि दौडमा प्रमुख दाबेदारमध्येको एक मानिएको छ । मेस्सी सन् २०१८ मा रसियामा भएको विश्वकप फुटबलपछि पहिलोपटक अफिसियल प्रतियोगितामा राष्ट्रिय टिमबाट खेल्दैछन् ।

तसर्थ पनि आजको खेल मेस्सीका लागि कमब्याक खेलका रूपमा लिइएको छ । त्यसो त केही समयअघि अर्जेन्टिनाले स्पेनमा भेनेज्वेलासँग खेलेको मैत्रीपूर्ण खेलमा मेस्सी सहभागी भए पनि त्यसबेला मेस्सी घाइते भएका थिए भने खेलमा अर्जेन्टिना ३–१ ले पराजित भएको थियो ।

यसपटक मेस्सीमाथि कोपा अमेरिकामा उच्च प्रदर्शन गर्दै देशलाई उपाधि जिताउनुपर्ने दबाब छ । रसिया विश्वकपपछि खराब समयसँग जुधिरहेका उनी बार्सिलोनामा उच्च लयमा रहे पनि राष्ट्रिय टिममा भने लगातार आलोचित बन्दै आएका छन् ।

यसपटक कोपा अमेरिका मेस्सीका लागि आफ्नो खराब विगत मेटाउने र देशका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विकल्पका रूपमा धेरैले हेरेका छन् ।

३२ जेष्ठ २०७६, शनिबार २२:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस