|  

आज बडादसैँको अन्तिम दिन, टीका र जमरा लगाउने क्रम जारी

२ कार्तिक २०७८, मंगलवार ०८:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ ।

आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आजसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बेलुकी अखिल बलिपूर्ति नभएसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

कोजाग्रत पूर्णिमाका अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादसैँ समाप्त हुन्छ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर गएका मानिस राजधानी प्रवेश गर्ने क्रम पनि बढ्न थालेको छ । योसँगै सुनसान बनेको काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ । टाढाटाढा आफन्त एवं मान्यजन हुने अहिले पनि नवदुर्गाको प्रसाद ग्रहणका लागि गइरहेको देख्न सकिन्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कार्तिक स्नान भने बुधवारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । चान्द्रमासअनुसार कात्तिक महिनाभर तुलसीको विशेष पूजा आराधना गरी आकाशदीपदानसमेत गरिन्छ ।

२ कार्तिक २०७८, मंगलवार ०८:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस