|  

एमालेमा कि ओली रहन्न, कि म रहन्न’ – नेपाल

१७ श्रावण २०७८, आईतवार ०९:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं – नेकपा एमाले विवाद समाधान गरेर पार्टी एकताका लागि भइरहेको प्रयास अन्ततः असफल भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली रहिरहेसम्म एकता हुन नसक्ने अन्तिम निष्कर्ष सुनाएका छन् ।

नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका उनीपक्षीय कार्यदल सदस्यलाई नेपालले ओलीले अध्यक्ष पद नछाडेसम्म सहमति हुन नसक्ने जवाफ दिएका छन् । कार्यदलका सदस्यले भने १० बुँदे सहमति मानेर जान नेपाललाई सुझाव दिएका थिए ।

शनिबार ओली र नेपाल दुबै पक्षका नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा छलफल गरिरहँदा अध्यक्ष ओली काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गरिरहेका थिए भने नेपाल अखिल फोर्स सभालाई सम्बोधन गरिरहेका थिए । जहाँ एकअर्काले एकअर्काविरुद्ध आक्रामक भाषण गरे, जसले एमाले एकता झन् टाढा पुगिसकेको संकेत गरेका छन् ।

सिंहदरबारमा दुबै पक्षका कार्यदलका सदस्यहरूले १० बुँदे सहमतिमा प्रतिबद्ध हुनुपर्ने निष्कर्षमा पुगेका बेला नेता नेपालले १० बुँदे सहमति नमान्ने र ओलीले अध्यक्ष पद छाड्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

कार्यदलमा भीम रावल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङले सहमतिको सम्भावनाबारे छलफल गरिरहेका थिए भने ओलीले भाषणमा बोलिरहेका थिए, ‘माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई एमालेमा कुनै स्थान छैन ।’ नेता नेपालले समेत ओलीलाई चेतावनी दिँदै फेरि प्रधानमन्त्री बन्न सक्छु भन्ने जालझेल नगर्न चुनौती दिइरहेका थिए ।

सहमतिका लागि ओलीपछिको दोस्रो अध्यक्ष माधव नेपाललाई बनाउनेबारे पार्टीमा छलफल भइरहेको थियो । तर नेपालले ओलीको मुनि बस्ने गरी आफू अध्यक्ष नबन्ने स्पष्ट पारेका छन् । ओली प्रतिगमनकारी र संविधानविरोधी भएको निष्कर्ष निकालेका नेपालले ओलीलाई अध्यक्ष नमान्ने कार्यदलका सदस्यहरूलाई बताएका स्रोतले जनाएको छ । नेता नेपालले ओलीले अध्यक्ष पद नछाडे आफूले नयाँ पार्टी खोल्ने समेत बताइसकेका छन् ।

पार्टीमा सहमतिका लागि प्रयास गरिरहेका उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई लगायत नेतालाई नेपालले शंका गर्न थालेका स्रोतले जनाएको छ । कार्यदलका सदस्यहरू १० बुँदे सहमतिमा प्रतिबद्ध देखिँदा ओलीसँग कुरा मिल्न गएको र नेता नेपालले नयाँ–नयाँ माग थपिरहेकाले विवाद बल्झिएको स्रोतले जनाएको छ । कार्यदलका संयोजक भीम रावलले ओलीले दिने दोस्रो अध्यक्ष बन्न नेपाललाई पटक–पटक आग्रह गरिसकेका छन् । तर नेपालले रावलको कुरा नमानेर उल्टै शंका गर्न थालेका स्रोतको दाबी छ ।

नेता नेपालले आफू सत्तारुढ गठबन्धनसँग नजिक रहेको र धेरै अगाडि बढिसकेको जानकारी समेत दिएका छन् । नेता नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रायः कोटेश्वर पुगिरहन्छन् भने प्रधानमन्त्री शेरबहादुर देउवाले समेत नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

एमालेको नेपाल पक्षलाई सरकारमा ल्याउनकै लागि देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरिरहेका छन् । नेपालकै पर्खाइका कारण सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा समेत रोकिएको छ ।

१७ श्रावण २०७८, आईतवार ०९:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस