|  

एमालेमा केन्द्रीयता हाबीः ‘हाई कमान्ड’कै निर्देशनबमोजिम प्रतिनिधि छनोट

२८ कार्तिक २०७८, आईतवार ०७:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै हाई कमान्डले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको हो।

सबैभन्दा लोकतान्त्रिक विधि नै सर्वसम्मत विधि भएकाले पनि प्रतिनिधि छनोटमा यसलाई अपनाइएको एमाले नेताहरूले बताएका छन्। राति अबेरसम्म सबै जिल्ला र कमिटीहरूलाई सर्वसम्मत प्रतिनीधि छनोट गर्ने बाध्य पारिएको जिल्ला नेताहरूले बताएका छन्। शनिबार सर्वसम्मत नभएका स्थानमा भने आइतबारसम्ममा सर्वसम्मत रूपमै छनोट गरी केन्द्रमा प्रतिनिधिको नाम पठाउन पनि निर्देशन दिइएको छ। ‘सबै स्थानमा सर्वसम्मत गराउने निर्देशन छ, त्यहीअनुसार सबै कमिटीमा प्रतिनिधि छनोटको प्रक्रिया सर्वसम्मत हुन्छ,’ निर्वाचन प्रक्रियामा रहेका एक नेताले भने।

एमालेले करिब ८ लाख संगठित सदस्यबाट १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश छनोट गर्ने कार्यलाई सर्वसम्मत बनाइसकेको छ। एमालेले देशका सबै भौगोलिक, गैरभौगोलिक कमिटी, जनसंगठन र प्रवासमा शनिबार एकै दिन प्रतिनिधि छनोट सुरु गरेको थियो। केही जिल्लाले बिहीबार र शुक्रबार नै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिसकेका पनि छन्। आगामी १० देखि १२ मंसिरमा चितवनमा हुने दसौं महाधिवेशनमा यसरी छनोट भएका १ हजार ९ सय ९९ प्रतिनिधिले पार्टीको मूल नेतृत्वसहित केन्द्रीय कमिटी सदस्यहरू निर्वाचित गर्नेछन्।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबार साँझबाट सुरु भएको प्रतिनिधि छनोट प्रक्रिया शनिबारसम्म आइपुग्दा अधिकांश स्थानमा सर्वसम्मत ढंगले चयन भइसकेको बताए।

निर्वाचनका लागि बिहीबारबाटै बहुसंख्यक जिल्लामा मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, फिर्तालगायतको प्रक्रिया सुरु भएको भए पनि सर्वसम्मत ढंगले प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाउन केन्द्रको निर्देशन थियो। प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीहरूमा महाधिवेशन प्रतिनिधिका आकांक्षी धेरै भए पनि केन्द्रले दबाब दिएपछि निर्वाचन प्रक्रिया नबढाई सर्वसम्मतिको प्रक्रिया अवलम्बन गरिएको नेताहरूको भनाइ छ। तर, झापा, तेह्रथुम, उदयपुर, सोलुखुम्बु, प्रदेश १ सम्पर्क कमिटीलगायत स्थानमा राति अबेरसम्म सर्वसम्मत प्रतिनिधि छनोट हुन सकेको छैन। प्रदेश २ को महोत्तरी र सप्तरीमा शनिबार सहमति जुटेको छैन, जहाँ आइतबार मात्रै प्रतिनिधि छनोट हुनेछन्। धनुषा र सिरहामा सोमबार मात्रै प्रतिनिधि छनोट हुनेछन्। सुदूरपश्चिमका अधिकांश जिल्लामा प्रतिनिधि छनोटमा सहमति जुटिसकेको छैन।

शनिबार प्रतिनिधि छनोटका लागि तीन दिनअघिदेखि नै सर्वसम्मतिको प्रयास गरिएको थियो। आकांक्षीहरूको संख्या एकपछि अर्को गर्दै बढेपछि धेरैजसो जिल्लामा सर्वसम्मतिका लागि सकस भएको छ। तैपनि, पार्टी केन्द्रको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित कमिटीका नेताहरू सर्वसम्मतिको प्रयासमा निरन्तर जुटिरहेको नेताहरूले बताएका छन्। केन्द्रीय सदस्य बन्न चाहने र सम्भावना भएका नेताहरूलाई सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरिएको छ। तर, केही आकांक्षीले आफूहरूको अवसरमा नेताहरू सधैं बाधक रहेको गुनासो गरेर चुनावी प्रक्रियामा जान दबाब दिइरहेका छन्।

एमालेले यसअघि वडा र पालिका स्तरका सबै अधिवेशन सर्वसम्मत गराउन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार सर्वसम्मत नेतृत्व चयन भएको थियो। त्यहीअनुसार अहिले प्रतिनिधि छनोटलाई पनि सर्वसम्मत गर्न निर्देशन दिएबमोजिम सबै तह यसको कार्यान्वयनमा जुटेका हुन्। ‘अहिले पार्टीलाई संकट परेको छ भनेर सबै तहमा सर्वसम्मत नेतृत्व छनोट गर्न पार्टीले निर्देशन दियो। हामीले त्यही पालना गरेका छौं,’ कानुनी पृष्ठभूमिका एक नेताले भने, ‘तर, महाधिवेशन प्रतिनिधि पनि सकेसम्म सर्वसम्मत भन्दै निर्देशन दिने काम भएको छ। यसले गर्दा भोलि केन्द्रमा पनि सर्वसम्मत गर्ने सोच होला।’ एमालेले अंगीकार गरेको ‘जनवादी केन्द्रीयता’मा जनवाद हराएर केन्द्रीयता मात्रै कायम हुन पुगेको ती नेताले बताए।

महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले जनताको बहुदलीय जनवादलाई सिद्धान्त र कार्यदिशा मानेको पार्टीमा नेतृत्वले चुन्ने र चुनिने सार्वभौम अधिकारलाई वञ्चित गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। तर, कार्यालय सचिव तामाङले सर्वसम्मत नै सबैभन्दा उपयुक्त र लोकतान्त्रिक विधि भएको जिकिर गरे। ‘अहिलेको विधिले सबैलाई समेट्नेछ, लोकतन्त्रको सुन्दर पक्ष सर्वसम्मत नेतृत्व चयन पनि हो,’ उनले भने।

यसरी चुनिए प्रतिनिधि

कार्यालय सचिव तामाङका अनुसार एमालेले १ सय ६५ निर्वाचन क्षेत्र र गैरभौगोलिक विशेष प्रदेशअन्तर्गतका क्षेत्रबाट १२ सय संगठित सदस्यबराबर हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीनजना प्रतिनिधि छनोट गरेको छ। १२ सयभन्दा बढी सदस्य रहेको क्षेत्रमा ८ सय सदस्य बराबर एक पुरुष र एक महिला प्रतिनिधि छनोट गर्ने एमालेको मापदण्ड बनाएको थियो।

प्रदेश वा सो सरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा दुई महिलासहित पाँचजना, जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्यमध्येबाट एकजना प्रतिनिधि छनोटको मापदण्ड रहेको छ। दलित सदस्य संख्या ५ सयभन्दा माथि भए एकजना महिला अनिवार्य र सोपछि प्रत्येक ५ सयमा महिलाको एक तिहाइ हुने गरी एकएकजनाको दरले छनोटको मापदण्ड रहेको छ।

भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सातजनाका दरले प्रतिनिधि र प्रवासबाट ३० तथा २२ जनवर्गीय संगठनमध्ये हरेकबाट दुई महिलासहित पाँचजना प्रतिनिधि छनोटको मापदण्ड छ। केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गतका पार्टी सदस्यबाट दुई महिलासहित पाँच र केन्द्रीय सल्लाहकार कमिटीबाट १५ जना तथा १ सय ९६ जना केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। नागरिक दैनिक बाट ।

२८ कार्तिक २०७८, आईतवार ०७:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस