|  

ककनीका जनप्रतिनिधिको कोरोना नियन्त्रणमा सक्रियताः मृतक परिवारलाई २५ हजार र संक्रमितलाई ५ हजार रुपैयाँ राहत

२२ जेष्ठ २०७८, शनिबार ११:२९ प्रकाशित
रामहरि गजुरेल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


रामहरि गजुरेल/नुवाकोट
देशव्यापी महामारीको रुप लिइरहेको कोरोना संक्रमण यतिबेला ग्रामिणस्तरमा समेत अनियन्त्रित बन्दै गएपछि नुवाकोटको ककनी गाउँपालिकाले यसको नियन्त्रणका लागि विभिन्न योजनाहरु अघि सारेको छ । कोरोनाबाट संक्रमित बिरामी भएकाहरुको पहिचान तथा तिनको उपचार गरी समाधान गर्ने प्राथमिकता दिएको गाउँपालिकाले प्रत्येक नागरिकको सिघ्र परिक्षण, छिटो उद्धार, उपचारदेखि कोभिडबाट बच्न संक्रमितलाई प्रोत्साहन र मृतक परिवारलाई राहत लगायतका कार्यक्रम सुरु गरेको हो ।
जसअनुसार, कोरोनाको संक्रमणबाट आफ्नो गाउँपालिकाभित्रका नागरिकको मृत्यु भएकाहरुको परिवारलाई राहत तथा किरिया खर्चवापत २५ हजार र संक्रमित भएका जुनसुकै बिरामीलाई ५ हजार रुपैयाँ नगद सहयोग दिइने बुधवार बसेको कार्यपालिकाको बैठकबाट निर्णय गरिएको ककनी गाउँपलिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । राहत रकमबाहेक संक्रमितको उपचार र अक्सिजनदेखि औषधीको निशुल्क व्यवस्था गाउँपालिकाले नै गर्दै आएकोले भविष्यमा पनि यसलाई निरन्तरता दिइने निर्णय गरेको छ । ‘संक्रमित भएपछि रोग प्रतिरोधात्मक क्षमता घट्ने र शारिरिक कमजोरी बिरामीमा हुने भएकोले तन्दुरुस्ती बढाउन पौष्टिक आहार आवश्यक हुन्छ’, अध्यक्ष लामाले भने–‘हाम्रो गाउँपालिका क्षेत्रभित्रका दुरदराजका वस्ती पनि छन् । सबैको आर्थिक अवस्था मजबुत नहुने भएकोले हामीले उपचार र औषधीसँगै दिने आर्थिक सहयोग उनीहरुका लागि प्रोत्साहनस्वरुपको यो राहत कोरोना संक्रमणलाई जित्ने थप आधार बन्न सक्छ ।’ यसका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दिइनेछ भने अपुग भएमा आन्तरिक श्रोत परिचालन गरिने गाउँपालिकाको तयारी छ ।

संक्रमण लुकाउने तर, परिक्षण गर्न नमान्ने

यसका साथै गाउँघरमा कोही संक्रमित भइहालेमा छरछिमेकी र आफन्तबाटै पनि सामाजीक तिरस्कारको सिकार हुनसक्नेदेखि ‘कोरोनाले मरिहाल्छ’ जस्ता हतोत्साही व्यवहार भोग्नुपर्ने डर त्रासले पनि धेरैजसोले परिक्षण नै गर्न नमान्ने समस्या आइपरेका कारण गाउँपालिकाले यसको समधानको उपाय खोजी गरेको थियो । यसपश्चात् कार्यपालिकाको बैठकबाट राहत रकम सहयोग कार्यक्रम सञ्चालन थाल्ने निर्णयले गाउँपलिकावासीलाई कोभिड–१९ भाइरसको परिक्षणको दायरामा ल्याउन मद्दत पुग्ने ककनीका सबै जनप्रतिनिधिहरुको विश्वास छ । ‘कोभिडको परिक्षणपछि संक्रमित पहिचान भएका बिरामीलाई राहत् पुगोस् भन्ने हाम्रो भावना त छँदैछ, सँगसँगै गाउँपालिकाको कोभिड परिक्षण अभियानमा सबैको उत्साहजनक सहभागिता होस् भन्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो’, ककनी गाउँपालिका अध्यक्ष लामाले प्रष्ट पारे ।
कोरोना महामारीको रोकथामका लागि लागू भएको निषेधाज्ञासँगै व्यापक रुपमा परिक्षण र त्यसपश्चात् पहिचान भएका संक्रमितको उपचार नै पहिलो प्राथमिकता रहनुपर्ने कार्यमा गाउँपालिकाले जोड दिएको योजना राख्दै लामाले कोरोना नियन्त्रणको चुनौतिसँगै समाधानबारे सुनाए–‘गाउँघरमा संक्रमित भएकाहरुले पनि संक्रमण लुकाएर बस्ने र परिक्षण नै गर्न नमान्ने समस्या आइप¥यो । यही नै हाम्रो मुख्य चुनौति देखिएकोले संक्रमितलाई राहत दिने व्यवस्था ग¥यौँ ।’ यसबाहेक गाउँपालिकासँग संक्रमितको उपचार गर्न प्रयाप्त आइसुलेसन, अक्सिजन, औषधी, एम्बुलेन्सदेखि प्रयाप्त जनशक्ति तयारी अवस्थामा रहेकोले बढीमा असार महिनाभित्र ककनीमा कोरोनाको संक्रमणलाई निमूल पार्ने उनको दाबी छ । संक्रमित बिरामीको उपचार तथा सेवामा हरेक आइसुलेसन सेन्टरमा पुगेर अध्यक्ष लामा आफैँ खटिएका हुन्छन् भने उनीहरुको खानपान, हेरचाह र उपचारमा आफैँ उपस्थित भई बिरामी जनताको सहारा बनिरहेको पाइन्छ ।
गाउँपालिकाले ल्याएको योजनालाई आजैदेखि कार्यान्वयन थालिनुका साथै अझ तिव्र रुपमा कर्मचारी, स्वास्थ्यकर्मी लगायत सम्पुर्ण जनप्रतिनिधिहरु वडादेखि टोल–टोलमा विगत एक महिनादेखि खटिएकोमा थप शसक्त भएर लागिपर्ने उपाध्यक्ष सिता खतिवडा लामाले बताइन् ।

तयारी अवस्थामा श्रोत, साधन र जनशक्ति


राजधानी काठमाण्डौंसँगै जोडिएको यस ककनी गाउँ गाउँपालिका कोरोना संक्रमणबाट अति नै संवेदनशील र उच्च जोखिममा छ । हालसम्म ३ सय ३७ सक्रिय संक्रमित पुगिसकेको यहाँ ३ जनाले ज्यान गुमाइसकेका छन् ।
बढ्दो संक्रमण नियन्त्रणका लागि प्रयाप्त मात्रामा  तयारी अवस्थामा राखिएको औषधीदेखि अक्सिजनसम्म निशुल्क उपलब्ध गराइरहेको छ भने सबै गाउँपालिकावासीको कोभिड परिक्षणका लागि तत्कालै ४ हजार एन्टिजेन किट खरिद गरी काम अघि बढाएको छ । गाउँपालिका केन्द्र रानिपौवास्थित स्वास्थ्य केन्द्र र ओखरपौवा, चाउथे लगायत अन्य विभिन्न वडामा गरी करिब ४० वटा संख्यामा आइसुलेसन बेड तयारी अवस्थामा राखेको गाउँपालिकाले जानकारी दिएको छ । विगतदेखि नै जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीसहितको ८ देखि १० जनासम्मको २४ सै घण्टा गाउँपालिकाभर नियमित खटिएका छन् । केही व्यक्ति बिरामी हुनासाथ परिक्षण गर्न र उद्धार गरी उपचारका लागि अस्पताल वा स्वास्थ्यकेन्द्र ल्याउन गाउँपालिकाको आफ्नै सवारी साधनलाई बिरामी ओसारपसार गर्ने एम्बुलेन्सको रुपमा सञ्चालन गरिएको छ । अहिलेको संकटकालिन अवस्थामा गाउँपालिकावासी नागरिकको जिवन बचाउन लागिपरिरहेकोमा चिन्ता व्यक्त गर्दै भन्छन्–‘जनतालाई नै बचाउन सकिएन भने कसका लागि विकास गर्ने ?’
कोरोना नियन्त्रणको प्रभावकारी र उपयुक्त उपाय खोजी गरेको ककनी गाउँपालिकाले यसप्रकारको विधि, पद्दती र सक्रियताबाट मात्रै जतिसक्दो छिटो महामारीलाई शुन्यमा पु¥याउन सकिनेमा आफुहरु विश्वस्त देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर नेपालको धारणा छ ।

२२ जेष्ठ २०७८, शनिबार ११:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस