|  

काँग्रेस अधिवेशन: धादिङमा कुन पक्ष बलियो ?

१४ आश्विन २०७८, बिहीबार ०७:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाली काँग्रेस धादिङमा अझै दुई वटा पालिकामा अधिवेशन भएको छैन । नीलकण्ठ नगरपालिकामा करिब ८० मत खसिसकेपछि अधिवेशन स्थगित भएको थियो भने रुभिभ्यालीमा प्रक्रिया प्रारम्भ हुन सकेको छैन ।

नीलकण्ठ नगरपालिकामा मतदान हुँदा हुँदै पार्टी सभापति रमेश धमला र पूर्व सभापति रामनाथ अधिकारी आफैं उपस्थिति भएर निर्वाचन रोकाएका थिए । सो नगरपालिकामा भीम ढुंगाना पक्षको बाहुल्यता रहेको थियो । अधिवेशनमा हारिने डरका कारण यी दुवै पालिकामा अधिवेशन गराउन जिल्ला संस्थापन तयार भएको छैन ।
धादिङमा रहेका १३ पालिका मध्ये ११ वटामा अधिवेशन सम्पन्न भइसकेका छन् । ती मध्ये ७ वटामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । बाँकी दुई वटामा निर्वाचनबाट नेतृत्व चयन भएका छन् ।

सर्वसम्मत रुपमा चयन भएका बेनिघाट रोराङ गाउँपालिकामा यसअघिका सभापति ऋषि त्रिपाठी नै चयन भएका छन् । भीम ढुंगानाको पकट क्षेत्र मानिने यस पालिकामा ढुंगानाको प्रस्तावमा नै त्रिपाठी सभापति भएका हुन् ।

उनलाई धमला पक्षले पनि समर्थन गरेपछि सर्वसम्मत बनेका छन् । उनी वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीसँग खास नजिक छन् । त्रिपाठी र ढुंगानाको सम्बन्ध राम्रो छ ।

त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष भूमि कंडेल रामनाथ अधिकारी निकट छन् । उनी अधिकारी पक्षको प्रस्तावमा ढुंगाना पक्षले समर्थन गरेपछि सर्वसम्मत बनेका हुन् । त्यस्तै सिद्धालेक गाउँपालिकामा भने ढुंगाना पक्षका रामशरण गिरीको पुरै प्यानल विजयी भएको छ ।

यो पालिकामा नेतृत्वका लागि दुवै पक्षबीच कडा प्रतिस्पर्धा रहेको थियो । पूर्व जिल्ला सभापति रामनाथ अधिकारीका प्रिय पात्र भीमकान्त सिलवाल र नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाका विश्वास पात्र रामशरण गिरीबीच प्रतिस्पर्धा थियो ।

जिल्लामा यो अधिवेशनलाई मिनी जिल्ला अधिवेशनकै रुपमा हेरिएको थियो । गल्छी गाउँपालिकामा भने विश्व अर्याल र हरी अधिकारीको पक्षबाट भाइकाजी तिवारीलाई अघि सारिएको थियो भने ढुंगाना पक्षबाट दिपक कार्की उम्मेदवार थिए ।

सहमति गर्ने क्रममा तिवारीले उम्मेदवारी फिर्ता लिएर ढुंगाना पक्षका कार्की सभापति बनेका हुन् । त्यस्तै थाक्रे गाउँपालिकामा पनि दुवै पक्षले पहिला आ–आफ्ना उम्मेदवार तय गरेका थिए ।

अधिकारी – अर्याल पक्षले अमृत थपा र ढुंगाना पक्षले साधुराम थापालाई उठाउने तयारी गरेका थिए । तर ढूंगाना पक्षका रवी सुदन थापाको पहलमा तेस्रो व्यक्ति रामप्रसाद विडारीको नाममा सहमति बन्यो । विडारी रवी सुदनसँग निकट मानिन्छन् । रवि ढुंगाना पक्षबाट १ नम्बर क्षेत्रका क्षेत्रीय सभापतिका उम्मेदवार हुन् ।

धुनिवेशी नगरपालिकामा ढुंगाना पक्षले पहिला देखि नै सुरज उप्रेतीलाई प्रस्ताव गरेको थियो । तर विश्व अर्याल र हरी अधिकारीले आफूहरुको उम्मेदवार भनेर जबरजस्त प्रचार गर्न खोजेपछि ढुंगाना पक्षले प्रकाश हमाललाई अघि सार्ने तयारी थियो । ढुंगाना बैठक राखेर पालिका अधिवेशनसम्म उप्रेती स्वतन्त्र बसने र अधिवेशन लगत्तै ढुंगाना पक्षमा खुलेर लाग्ने सहमति भएको थियो । त्यस लगत्तै हमालले उम्मेदवारी फिर्ता लिएका थिए । अहिले उप्रेती खुलेर ढुंगाना पक्षमा लागेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका सर्वसम्मत रुपमा चयन भएका राजु उप्रेती, गंगा जमुना गाउँपालिकामा निर्वाचित फैसिंह तामाङ जिल्ला सभापति धमला पक्षका हुन् । ज्वालामुखी गाउँपालिकाका रेशम कार्की अधिकारी पक्षका हुन् । त्यस्तै खनियाबास गाउँपालिकाका सभापति मरिचमान तामाङ, नेत्रावती गाउँपालिकाका ठाकुर गुरुङ पूर्व मन्त्री दिमान पाख्रिन र ढुंगाना पक्षका हुन् ।

निर्वाचन हुन बाँकी रहेको निलकण्ठ र रुभीभ्यालीमा पनि पाख्रिन – ढुंगाना पक्षको राम्रो पकड रहेको छ । धादिङमा सभापति धमला, पूर्व सभापति रामनाथ अधिकारी, हरी अधिकारी र विश्व अर्यालको एउटा समुह छ भने पूर्व मन्त्री पाख्रिन, ढुंगाना, प्रदेश सांसद डा राजाराम कार्की, तिलक रुवाली, शिवराज अधिकारीको अर्को पक्ष छ । दुवै पक्ष यो अधिवेशनमा आ–आफ्नो शाख जोगाउने कसरतमा छन् ।

निर्वाचन सारिनु लज्जास्पद : ढुंगाना

दसैँअघि नै हिमाली जिल्लामा अधिवेशन सक्ने केन्द्रीय निर्णय भए पनि त्यसलाई लत्याउँदै धादिङमा भने दसैँपछि मात्र अधिवेशन गर्ने निर्णय पार्टीले लिएको छ । सो निर्णयमा ढुंगाना पक्षको असहमति छ । पार्टी सभापति धमलाले विज्ञप्ती जारी गर्दै हिमाली जिल्ला भए पनि अहिले अधिवेशन सम्पन्न गर्न नसकिने भएकाले पछि धकेलिएको उल्लेख गरेका छन् । तर अर्को पक्षले भने निर्वाचनमा हार बेहोर्न पर्ने भएकाले दुई चार दिन भने पनि सत्ता लम्ब्याउनका लागि अधिवेशन सार्ने परिपन्च गरेको भनेको छ ।

‘केन्द्रको निर्णय विपरीत निर्वाचन सारिएको छ, यो लज्जास्पद छ,’ नेता ढुंगानाले भने, ‘निर्वाचन समितिले पनि खासै अडान लिन सकेन, सभापतिले दुई चार दिन थप बस्ने रहर गरे, ठिकै छ, हामी चैं सम्पुर्ण रुपले अधिवेशनको तयारीमा छौं ।’

१४ आश्विन २०७८, बिहीबार ०७:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस