|  

काँग्रेस महाधिवेशन : बागमतीमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी

१८ मंसिर २०७८, शनिबार ०७:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ/नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत वाग्मती प्रदेशको सभापतिमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। हेटौंडामा शुक्रबार इन्द्र बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधानले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

बानियाँ सभापति शेरबहादुर देउवा पक्षधर हुन्। त्यस्तै केसीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहको समर्थन छ भने प्रधानलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थन छ। बानियाँ मकवानपुरका, केसी नुवाकोटका र प्रधान काठमाडौंका हुन्।

सभापतिका तीनवटै उम्मेदवारले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। बानियाँको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएका छन्।

त्यस्तै केसीको प्यानलबाट उपसभापतिमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा कञ्चनचन्द्र बादे, रामचन्द्र अर्याल(बादे), सहमहामन्त्रीमा जीवन डंगोल, ऋषिराम घिमिरे र वीरबहादुर तामाङले उम्मेदवारी दिएका छन्।

प्रधान समूहबाट उपसभापतिमभा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी,सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन्।

कांग्रेस वाग्मती प्रदेशको पदाधिकारीमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, एक महिलासहित ३ सहमहामन्त्री चयन हुनेछन्। प्रदेशस्तरीय कार्यसमिति ९१ सदस्यीय हुन्छ। जसमध्ये ८ जना पदाधिकारी, ४८ जना खुलातर्फ सदस्य र ३५ जना समावेशीतर्फबाट निर्वाचित हुनेछन्।

प्रदेश संरचनापश्चात् पहिलो पटक हुन लागेको कांग्रेसको प्रदेशस्तरीय अधिवेशनको उद्घाटन बिहीबार र मनोनयन दर्ता शुक्रबार राखिएको थियो। शनिबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने वाग्मती प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिए। करिब २ हजार १ सयजनाले मतदान गर्नेछन्।

बानियाँ वाग्मती प्रदेशका कांग्रेस संसदीय दलका नेता हुन्। उनी संघीय सरकारमा दुई पटक राज्यमन्त्री बनिसकेका छन्। मकवानपुर कांग्रेसको सभापति रहेका बानियाँ २०७० मा पहिलो पटक सांसद बनेका थिए। २०४४ सालदेखि राजनीतिमा सक्रिय उनी २०५१ यता कांग्रेस महाधिवेशन प्रतिनिधि बन्दै आएका छन्। उनी २०५३ मा नेवि संघ मकवनापुरको जिल्ला सचिव, २०५५ मा तरुण दलको जिल्ला सचिव, २०५६ मा तरुण दल जिल्ला अध्यक्ष पनि भैसकेका छन्।

जगदीश्वरनरसिंह केसी नुवाकोटमा २०५७ देखि लगातार ४ पटक जिल्ला सभापति भएका व्यक्ति हुन्। २०६४ र २०७० मा संविधानसभा सदस्य रहेका उनी २०६२–६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेका बेला गोंगबुमा पाखुरामा गोली लागेको थियो।

२०४२ सालको सत्याग्रहमा संलग्न हुँदा उनी प्रहरी हिरासतमा पनि परेका थिए। २०४६ सालको जनआन्दोलनमा ५९ दिनसम्म जेल परेका थिए। २०४१ सालमा सरस्वती क्याम्पसको स्ववियु सचिव रहेका उनी २०३६ सालको अस्कल काण्डका घाइते पनि हुन्।

भीमसेनदास प्रधान २०७४ सालमा ९ महिना रक्षामन्त्री बनेका थिए। उनले २०७० को चुनावमा एमाले नेता योगेश भट्टराई र २०७४ मा एमाले र माओवादी मिलेर चुनाव लड्दा समेत माओवादी नेता झक्कु सुवेदीलाई पराजित गरेर सांसद बनेका थिए। २०३२ सालदेखि विद्यार्थी आन्दोलनबाट उनी सक्रिय राजीतिमा आएका हुन्।

उनी संस्थापक नेता गणेशमान सिंहसँगै रहेर २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनमा सहभागी थिए। २०६२/६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइरालाले उनलाई संयुक्त जनआन्दोलन काठमाडौंको संयोजक बनाएका थिए। उनी प्राध्यापक संघको महासचिव र अध्यक्ष पनि बने। उनी काठमाडौं कांग्रेसका पूर्वसभापतिसमेत हुन्। नागरिक न्युजबाट

१८ मंसिर २०७८, शनिबार ०७:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस