|  

कांग्रेसको प्रदेश नेतृत्वका लागि उम्मेदवारहरूको मनोनयन दर्ता आज हुने

१७ मंसिर २०७८, शुक्रबार ०९:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत आज सातै प्रदेशमा सभापतिलगायत उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। हिजो बिहीबार सभापति शेरबहादुर देउवाले भर्चुअल रूपमा प्रदेशको अधिवेशन उद्घाटन गरेका थिए।

तर प्रदेश नम्बर १ मा भने हिजो उद्घाटन सत्र हुन सकेन। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार आज बिहान उद्घाटन सत्र र उम्मेदवारहरूको मनोनयन दर्ता एकसाथ हुनेछ। सातै प्रदेशमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानलसहित नै उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रदैछन्।

प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा तथा पौडेल समूहबाट गुरूराज घिमिरे प्रदेश सभापति पदमा उठ्दै हुनुहुन्छ। प्रदेश नम्बर २ मा रामसरोज यादव, महेन्द्रकुमार राय, दिनेशकुमार यादव र कृष्णा यादवले सभापतिका लागि दाबी गरेका छन्। बागमती प्रदेशमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

सभापति देउवा पक्षबाट संसदीय दलका नेतासमेत रहेका मकवानपुरका सभापति ईन्द्र बानियाँ, पौडेल पक्षबाट नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधान सभापति पदका उम्मेदवार छन्। गण्डकी प्रदेशमा सभापति देउवा पक्षले अर्जुन जोशीलाई सभापति पदमा उठाएको छ भने पौडेल पक्षले शुक्रराज शर्मालाई सभापतिमा अगाडि सारेको छ।

लुम्बिनीमा देउवा पक्षबाट सांसद भरत शाह र पौडेल पक्षबाट रोल्पाका निवर्तमान सभापति अमरसिंह पुन मगर प्रतिस्पर्धामा उत्रने भएका छन्। कर्णाली प्रदेशमा देउवा पक्षबाट ललितजंग शाही र पौडेल पक्षबाट भूपेन्द्रजंग शाही प्रदेश सभापति पदका उम्मेदवार छन्।

सुदूरपश्चिम प्रदेशमा देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, अर्जुन सिंहलगायतको नाम चर्चामा छ। पौडेल पक्षबाट भरत खड्का र कमल शाह प्रदेश सभापतिका आकांक्षी छन्। आज उम्मेदवारहरूको मनोनयन दर्ता सकेर भोलि चुनाव गर्ने तयारी कांग्रेसको छ।

१७ मंसिर २०७८, शुक्रबार ०९:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस