|  

गरिबीको कारणले तीन बालबालिका भाेकै

२८ कार्तिक २०७६, बिहीबार १४:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ/निलकण्ठ
बाबुले गरिबीका कारण आत्महत्या गरे । कमाइ गरेर परिवार पालिरहेका यमबहादुर थापामगरको मृत्युपछि तीन बच्चा भोकै विद्यालय जान थालेका छन् । आमा ओछ्यानमा थला परेको पनि एक वर्ष भयो । तिन वर्षदेखि प्यारालाइसिस भएपछि नीलकण्ठ नगरपालिका –१२ आँगेटारीका ३३ वर्षीय लक्ष्मी थापा मगर दिसापिसाव एकै ठाउँमा भएको छ । उनका श्रीमान् यमबहादुरले उपचारका लागि घर खेत सके तर उपचार भएन । लक्ष्मीको स्याहार ७ वर्षीय छोरी सोममाया थापामगर, १० वर्षीय काजी थापामगर र १२ वर्षीय करिना थापामगरले गर्दै आएका छन् । बिहान ओछ्यान परेकी आमालाई गिलो भात बनाएर खुवाउने र आमाले सुरुवालमा गरेको दिसापिसाव धोइदिने गर्छन् छोराछोरीहरू । तीन वर्षदेखि प्यारालाइसिस भएकी लक्ष्मीको शरीर नचल्ने भएपछि बोल्नसमेत नसक्ने अवस्थामा छिन् । परिवारको सबै बोझ करिनाको काँधमा आएको साङकोष माविका शिक्षक रामप्रसाद लामिछानेले बताए । उनीहरूका बाबु ३१ वर्षीय यमबहादुर थापामगरले ०७६ कात्तिक २० गते घरसँगको रुखमा पासो लगाएर आत्महत्या गरे । तीन बालबालिकाका बाबु यमबहादुरले ज्याला मजदुरी गरेर परिवार पालिरहेका थिए । पत्नीको उपचारका घर खेत बेचे तर उपचार भएन । पत्नी बोल्न नसक्ने अवस्थामा थला परेपछि यमबहादुरले जीवनदेखि हार खाएर मृत्यु भएको अर्का शिक्षक युवराज रिजालले बताए । गरिबीले पिल्सिएका यमबहादुरले बाँच्ने आशा देखेनन् । तीन–तीन जना बच्चा कसरी हुर्काउने भन्ने चिन्ता माथि श्रीमतीसमेत थपिएपछि डिप्रेसनको औषधी खाइरहेका यमबहादुर उपचार अभावमा र गरिबीले गर्दा मर्न बाध्य भए । स्वास्थ्य र खाद्य अधिकारलाई मौलिक हकमा राखेको सरकारले गरिबीका कारण उपचार अभावमा कोही मर्नु पर्दैन भने पनि यो परिवारलाई भने मौलिक हकले छुन पनि सकेन । साङकोस माविको कक्षा ३ मा सोममाया, कक्षा ५ मा काजी र कक्षा ७ मा करिना अध्ययनरत तीन बालबालिका बाबुको मृत्युपछि भने भोक भोकै विद्यालय जान थालेका छन् । विद्यालयले उनीहरूलाई खानेकुरा किन्ने व्यवस्थाका लागि रकम सङ्कलन गरेको शिक्षक रामप्रसादको भनाइ छ । घरमा खानेकुरा सकिएपछि उनीहरू थोरै खोले आमालाई खुवाएर उनीहरू भोकै विद्यालय गएको शिक्षकहरूले थाहापाएपछि विद्यालयमा ०७६ कात्तिक २६ गते चन्दा सङ्कलन गरेर चामल किनिदिँदै आएका छन् । जिल्लामा बालबालिकाका लागि काम गर्ने थुप्रै संस्थाहरू भए पनि उनीहरूसम्म भने कोही पुग्न सकेका छैनन् । स्थानीय सरकार नीलकण्ठ नगरपालिका १२ नम्बर वडाध्यक्ष बाबुराम लम्सालले जनजाति शीर्षकको केही रकम सहयोग गर्न आफूले नगरपालिकामा कुरा गरेको बताएका छन् । स्थानीय समाजसेवी दामोदर अर्यालले हिजो बुधवार परेको जन्मदिनको अवसरमा निवासमा नै पुगि दश हजार बराबरको खाद्यान र स्टेसनरी सहयोग गरेको बताउनु भयो।

२८ कार्तिक २०७६, बिहीबार १४:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस