|  

गाउँपालिकाको आर्थिक अनियमितता र बेथितीको विरुद्धमा सिद्धलेकका राजनीतिक दलले बुझाए ज्ञापन पत्र

२० आश्विन २०७८, बुधबार ०८:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – धादिङको सिद्धलेक गाउँपालिकामा बेथिती र आर्थिक अनियमितता भएको भन्दै एमाले बाहेकका विभिन्न ४ राजनीतिक दलले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार, नेकपा एमाले बाहेकका गाँउपालिकामा क्रियाशिल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले हालसम्म संचारमाध्यममा आएको गाँउपालिकामा भएको बेथिती र आर्थिक अनियमितताको छानबिन गर्न माग गर्दै गाँउपालिका प्रमुख प्रेमनाथ सिलवाल र प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मालाई कार्यकक्षमै गई ज्ञापनपत्र बुझाएका हुन् ।

४ वटै दलले गाउपालिकाभित्र भएका आर्थिक अनियमितताबारे ध्यानाकर्षण गराउन ज्ञापनपत्र बझाउदै वास्तविकता छानबिन गर्न अनियमितता भएको भए दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन् । ४ वटै दलले ज्ञापनपत्रमार्फत सिद्धलेक गाउपालिकामा कृषि औजार, मेसिन खरिद तथा औषधी खरिदमा आर्थिक अनियमितता भएको, विनियोजित बजेट गाउपालिकाका पदाधिकारीहरुको अनुकुलताको व्यक्तिहरुलाई राखेर उपभोक्ता समिति निर्माण गरि आर्थिक चलखेल गरेको, विद्यालय व्यवस्थापन समिति चयन, शिक्षक नियुक्ती जस्ता विषयमा राजनीतिकरण भएको आरोप लगाएका छन् ।

यस्तै गाँउपालिका भित्र गरिएका डिप बोरिङका आयोजना, वडा कार्यालय भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको ज्ञापनपत्रमा लेखिएको छ । यसरी गाउपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्ने जनगुनासो आएकोले तत्काल छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न र गाँउपालिकाभित्र सुरुदेखि भएका आर्थिक गतिविधिहरुको वास्तविक विवरण सार्वजनिक गर्न समेत ज्ञापनपत्रमार्फत माग गरेका छन् ।

उता ज्ञापनत्रपत्र बुझ्दै सिद्धलेक गाँउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले भने गाउपालिका भित्र आर्थिक अनियमितता भएको भन्ने खबरमा सत्यता नभएको बताएका छन् । गाँउपालिकाले कुनै पनि सामान खरिद होस् या विकास निर्माणका काम होस् सबै विधिको शासनमै राहेर काम गरेको बताए । गाउपालिकाबाट भएका हरेक आर्थिक गतिविधिको दस्तावेज सुरक्षित राखिएको हुनाले आर्थिक चलखेल भएको छ भन्ने शंका नगर्न सिलवालले आग्रहसमेत गरे ।

२० आश्विन २०७८, बुधबार ०८:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस