|  

दुर्घटना न्युनीकरणका लागि पृथ्वीराजमार्गमा गजुरी प्रहरीको सचेतना अभियान

१ माघ २०७७, बिहीबार ०९:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


दुर्घटना न्युनीकरणका लागि पृथ्वीराजमार्गमा प्रहरीले विशेष सचेतना अभियान सुरु गरेको छ । सवारी दुर्घटना बढी हुने राजमार्गका रुपमा परिचित पृथ्वीराजमार्गलाई लक्षित गरी जिल्ला ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीले संयुक्त रुपमा सचेतना अभियान सुरु गरेका हुन् ।

दुर्घटना वृद्धि हुँदै गइरहेकोले सवारी दुर्घटना न्युनीकरणका लागि इलाका प्रहरी कार्यालय गजुरीले दुर्घटना न्युनीकरण सचेतना अभियान सुरु गरेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गजुरीले दुर्घटना न्युनीकरणका लागि धादिङको बेनिघाट, गजुरी, मलेखुबाट अभियानको सुरुवात गरेको र अगामी दिनमा पनि यसलाई निरन्तरता दिने इलाका प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड़काले जानकारी दिए ।

सवारी दुर्घटनाका अधिकांश घटनामा मोटरसाइकलहरु नै जोडिने गरेको र मोटरसाइकल चालकहरुले सडक सुरक्षालाई ध्यान नदिई चलाउने गरेको पाइएकोले मोटरसाइकल चालकहरुलाई सवारी दुर्घटनासम्बन्धी सचेतना अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुर्दशनदेव जोशीले बताए ।

साथै, दुर्घटना रोक्न चालक अनुशासित हुनुपर्नेमा इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जोड दिए ।

पृथ्वीराजमार्गमा हुने ९० प्रतिशत दुर्घटना मोटरसाइकलको लापरवाहिले गर्दा बढेको प्रहरीले जनाएको छ । सोही कारण मोटरसाइकल चालकलाई लक्षित गरी सचेतना अभियान गरिएको हो । दुर्घटना न्युनीकरणका लािग चालक, सहचालक, पैदल यात्रु र यात्रुहरुले पनि ध्यान दिनुपर्ने प्रहरीको भनाइ छ । सवारी दुर्घटनाका कारण वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ भने कैयौंले अंगभंग भएर  जीवन बाँच्नु परेको छ ।

१ माघ २०७७, बिहीबार ०९:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस