|  

धादिङमा अब महिलाले संचालन गर्ने पार्लरमा पुरुषको पनि कपाल काट्ने

७ श्रावण २०७८, बिहीबार २१:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी / धादिङको गजुरी गाउँपालिकाका महिलाले संचालन गर्ने पार्लरमा अब पुरुषको कपाल पनि काट्ने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ गजुरीले आयोजना गरेको १८ दिने पुरुष हेयर कटिङ तालिम संचालन पश्चात महिलाले पनि पुरुषको कपाल काट्ने भएका हुन् । गजुरी गाउँपालिका वडा नं. २ मलेखुमा सञ्चालन भएको पुरुष हेयर कटिङ तालिम आजबाट सम्पनन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ गजुरीको आयोजना एवं गजुरी गाउपालिकाको सहयोगमा सञ्चालित तालिमको विहिवार गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले एक कार्यक्रमकाबिच समापन गर्नुभयो । गत आर्थिक वर्ष २०७७०/७८ मा गाउँपालिकाबाट विनियोजित महिला लक्षित कार्यक्रम अन्तरगत पुरुष हेयर कटिङ तालिम सञ्चालन गरिएको थियो । पुरुष हेयर कटिङ भने पनि तालिमका सहभागि भने महिलाहरु रहेको घरेलु महासंघ गजुरीका अध्यक्ष राजु लामा घिसिंले बताउनु भयो । तालिमपछि अब महिलाहरुले सञ्चालन गर्ने पार्लरमा पुरुषको कपाल काटिने पनि लामाले बताउनुभयो ।   गजुरी गाउँपालिकाभित्र हाल विदेसि नागरिकबाट कपाल काट्ने गरिरहेकोले गाउकै महिलाहरुले कपाल काट्ने व्यवसाय संचालन गर्ने अपेक्षा गरिएको प्रशिक्षक निरु थिङले बताउनुभयो । १४ जना महिलाले १८ दिन तालिम लिएका छन् । शुरुमा तालिम १० दिन सञ्चालन गर्ने भनिएपनि सहभागिहरुको अनुरोधमा १८ दिन सञ्चालन गरिएको थियो । तालिम समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ढुंगानाले सीप सिकेर व्यवसाय गर्न चाहाने महिलाकालागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । चालु आर्थिक वर्षमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने ढुंगानाले बताउनुभयो । तालिमपछि सहभागि महिलाहरुले सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन् । केहि सहभागिले तत्कालै व्यवसाय शुरु गर्ने बताएका छन् भने केहि सहभागिहरुले भने पहिलो पटक कैंचि समातेको बताउँदाउँदे दोश्रो चरणको तालिम पनि आवश्यक रहेको धारणा राखेका छन् ।

७ श्रावण २०७८, बिहीबार २१:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस