|  

नेपालकाेे उच्च भागमा भारी हिमपात

२४ माघ २०७७, शनिबार ११:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ — मुलुकका हिमाली बस्तीमा शुक्रबार हिमपात भएको छ, जसलाई स्वागत गर्दै स्थानीय खुसी भएका छन् । हिउँदमा मनग्य हिउँ परे सहकाल (अन्न उब्जनी राम्रो) हुने भएकाले हिमाली क्षेत्रका बासिन्दा खुसी भएका हुन् ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा शुक्रबार वर्षा र हिमपात भएको हो । मनाङ र मुस्ताङमा हिमपात हुँदा स्थानीयवासी घरबाहिर निस्केका छैनन् । माथिल्लो मुस्ताङमा एक फिटसम्म हिउँ जमेको छ । सदरमुकाम जोमसोम वरपरका डाँडाहरू सेताम्य देखिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गापा–६ घोडेपानीलगायत क्षेत्रमा पनि हिउँ परेको छ । हिमपातले हिउँदे बाली भने सप्रने भन्दै किसान खुसी भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
मनाङको नासों गाउँपालिका–९ दानक्युदेखि माथिल्लो क्षेत्रमा व्यापक हिमपात भएको छ । मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकामा एक फिटभन्दा पनि बाक्लो हिमपात भएको हो । हिमपातका कारण मनाङीहरू घरभित्रै बसेका छन् भने सडकमा सवारी आवागमन ठप्प भएको छ । हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने पिसाङका छिरिङ गुरुङले बताए । मनाङमा एक महिनाअघि अलि–अलि मात्र हिउँ परेको थियो । लमजुङ र कास्कीको उच्च भेगमा पनि हिमपात भएको छ ।
बागलुङको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित भएको छ । ढोरपाटन, ताराखोला र तमानखोला क्षेत्रमा हिउँले सेतै भएका छन् । ढोरपाटन सिकार आरक्ष क्षेत्र र बोवाङ गाउँलगायतका डाँडा हिउँले सेताम्य देखिएका छन् । ताराखोलाको हिले, तमानखोलाको सोले र लामेला क्षेत्र र गल्कोटको घुम्टेमा पनि हिउँ परेको छ । हिमपातसँगै झरी परेपछि ती क्षेत्रका बासिन्दाले पशुलाई चरनका लागि बाहिर निकालेका छैनन् ।
तीन गाउँपालिका रहेको लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा सबै डाँडा सेताम्य देखिएका छन् । दर्जनभन्दा बढी गाउँ हिउँले ढाकिएका छन् । भूमे र सिस्ने गाउँपालिकाका अग्ला बस्ती सेताम्य छन् । हिमपात र वर्षासँगै चिसो बढेको छ । कात्तिक अन्तिम साता वा मंसिरको पहिलो सातामै हिमपात हुने यहाँका हिमाल माघको अन्तिम साता मात्र सेताम्य बनेका छन् । जिल्लामा यसपटक भने सबैतिर नभएर अग्ला बस्ती र हिमालमा हिमपात भएको भूमे गाउँपालिका–२ का कमानबहादुर बुढामगरले बताए । ‘सुक्खा डाँडा बिहान सेताम्य देखिए,’ उनले भने, ‘यस वर्ष हिउँ पर्दैन कि भन्ने लागेको थियो, ढिलै भए पनि हिमपात भयो ।’
मुगुको छायानाथ रारा–९ मुर्माका रनवीर रोकायाको मुहारमा धेरैपछि खुसी छाएको छ । लामो समयको खडेरीले गहुँ, जौलगायत बाली सुक्न थालेपछि चिन्तित बनेका उनलाई शुक्रबारको हिउँले राहत दिएको हो । ‘लामो समयदेखि हिउँकै प्रतीक्षामा थियौं,’ उनले भने, ‘हिउँले सुबिकालको आशा पलाएको छ ।’
कर्णालीमा यसअघि पुस दोस्रो साता हुम्ला, मुगु, जुम्ला, डोल्पालगायतमा हिमपात भएको थियो । शुक्रबार मुगुको रारा, मुर्मा, मुन्दु, ताल्च, माथितुम, सोरुकोट, कालै, शोभा, बाम, खमाले, पापु, चिमाथलगायतका बस्ती सेताम्य भएका छन् ।

‘ढिलै भए पनि फेरि हिउँ पर्‍यो, अब अन्न र स्याउ, ओखर, आरू, चुली आदि फलफूलको उत्पादन बढ्ला,’ सोरु गाउँपालिका–६, सोरुकोटका पदम शाहीले भने । उनले अहिले भएको हिमपातले झन्डै जमिनमा डेढ महिना चिस्यान हुने बताए । ५ वर्षयता माघ–फागुनमा हिउँ पर्न थालेको छायानाथ रारा नगरपालिका–३ का किसान कम्मरसिंह खड्काले बताए । ‘हिउँ परे अन्न बेसाउनु पर्दैन,’ उनले भने, ‘हिमपात बढी भएको साल आफ्नै उत्पादनले जीविका चल्छ ।’ यो वर्ष यार्चाको उत्पादन पनि राम्रो हुने उनले बताए । कोरोना महामारीका कारण गत सिजनमा मुगुका बासिन्दाले यार्चा टिप्न पाएनन् । हिउँले किसानमा उत्साह ल्याएको जिल्ला कृषि विकास अधिकृत कमल सुनारले बताए ।

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा करिब आधा फिटसम्म हिउँ जमेको छ । राराताल घुम्न आएका आन्तरिक पर्यटक हिउँ खेल्दै रमाएका छन् । यो वर्ष रारामा दोस्रोपटक हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । ‘रारा क्षेत्र जताततै सेताम्य छ,’ उनले भने, ‘पर्यटकले अझै एक महिनासम्म हिउँको आनन्द लिन सक्छन् ।’

हुम्लाका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ । शुक्रबार दिनभर सदरमुकाम सिमकोटमा हिउँ खेल्नेको भीड लाग्यो । यसपालि पर्याप्त हिउँ परेको सिमकोट गाउँपालिका–६ की ६१ वर्षीय उम्मकला रावतले बताइन् । ‘बाली सपार्न हिउँकै प्रतीक्षामा थियौं,’ उनले भनिन्, ‘लगाएको बाली लामो खडेरीले सुकेको थियो, अब उब्जनी बढ्ने आस छ ।’ हिमपात भएपछि घरभित्रै आगो तापेर बसेको उनले बताइन् । हिउँ परेपछि हुम्लामा हवाई उडान ठप्प भएको छ ।

बाक्लो हिमपातपछि विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या भएको छ । हुम्लाका सबै सामुदायिक विद्यालय माघ १५ बाट सञ्चालनमा आएका हुन् । हिमपातपछि बाक्लो लुगा र बख्खु लगाएर विद्यार्थीलाई विद्यालय आउन भनिएको कैलाशबोधि बोर्डिङ स्कुलका शिक्षक खेम सुनारले बताए । उनले भने, ‘आइतबारदेखि आगो ताप्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेका छौं ।’ सुदूरपश्चिमका बझाङ र बाजुरालगायतका पहाडी जिल्लामा पनि शुक्रबार बिहानैदेखि हिमपात भएको छ ।

हिमपातले बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र डोटी जिल्लाका अधिकांश भूभागको तापक्रम माइनसभन्दा तल झरेको छ । कतिपय ठाउँमा चिसोका कारण पाइप फुट्दा खानेपानीको समस्या भएको छ । स्कुल र कार्यालयहरू बन्द गरिएका छन् । जाडो निकै बढेका कारण व्यापार व्यवसाय ठप्प भएको छ । मानिसहरू घरभित्रै आगो तापेर बसिरहेका छन् ।

बझाङको साइपाल क्षेत्रमा दुई फिटभन्दा बढी हिउँ परेपछि धलौन, काँडा, धुली, बलौडी र न्युनालगायत गाउँका बासिन्दा घरबाहिर निस्कन नसकेको स्थानीय वसन्त बोहराले बताए । हिमपात हुँदा बाली सुध्रने भएकाले किसान खुसी छन् । ‘गहुँ, जौ सुक्न थालिसकेको थियो । ढिलै भए पनि हिउँ पर्‍यो,’ कैलाशका अंगे कामीले भने, ‘अब खेतीपातीलाई केही राहत होला ।’ यार्चा तथा जडीबुटी संकलन क्षेत्रका रूपमा रहेको साइपाल गाउँपालिकाको राइढुंगी, माझा, परालखेत, स्याङवन र सुर्मा गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगालगायतका क्षेत्रमा ४ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । मंसिरयता बझाङमा यो तेस्रो हिमपात हो ।
गत भदौमा भुजीखोलाको बाढीले विस्थापित बनाएपछि स्याउलाको छाप्रो बनाएर बस्दै आएका बागलुङको ढोरपाटन–८ र ९ वडाका बासिन्दालाई मर्का परेको छ । ‘हिउँ र वर्षाले हामीलाई गाह्रो पार्‍यो,’ बाढीपीडित हरिबहादुर घर्तीले भने । पोखरामा भने शुक्रबार हिउँदकै पहिलो वर्षा रेकर्ड भएको छ । बिहान पौने ९ बजे वर्षा भएको हो ।

२४ माघ २०७७, शनिबार ११:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस