|  

पत्रकार महासंघ धादिङको अध्यक्षमा राजाराम शर्मा को प्यानल बिजयी

२६ चैत्र २०७७, बिहीबार १०:२४ प्रकाशित
प्रदेश हव न्युज डेस्क


धादिङ,२६ चैत
नेपाल पत्रकार महासंघ धादिङ शाखाको अध्यक्षमा रेडियो धादिङको स्टेसन म्यानेजर राजाराम शर्मा निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनबाट शर्माले १ सय ३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनु भएको हो । प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत भएको निर्वाचनमा अध्यक्ष पदको लागि दुई जनाबीच प्रतिस्पर्धा भएको थियो । जसअन्तरगत प्रेस चौतारी नेपाल, प्रेस संगठन नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट राजाराम शर्मा र प्रेस युनियन नेपालका पोषनाथ अधिकारीबीच प्रतिस्पर्धा भएको हो । शर्माले एक सय ३ मत प्राप्त गर्दा अधिकारीले ३७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै खुल्ला उपाध्यक्षमा संयुक्त प्यानलबाट सानुबाबु तिमिल्सीना, महिला उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा राम बहादुर ठकुरी “आशिष” , सहसचिवमा राजाराम डंगोल, खुल्ला तर्फको सहसचिवमा उपेन्द्र जम्कट्टेल र कोषाध्यक्षमा शिवप्रसाद देवकोटा निर्बाचित हुनु भएको छ ।

खुल्ला सदस्यहरुमा बिक्रम अधिकारी, उपेन्द्र प्रसाद अधिकारी, रामचन्द्र रुपाखेती, शिबराज आर्चाय, सुमन अधिकारी,निरमाया गुरुङ र अस्मिता पोख्रेल निर्बाचित हुनु भएको छ ।

केहि दिनअघि सदस्य(आदिबाशी)अर्जुन कुमार श्रेष्ठ,सदस्य(दलित)अनिल नेपाली, अन्य समाबेशी सदस्य उद्धव चेपाङ र सदस्य मधेसी बिकास रौनियार निर्विरोध निर्वाचित भइसकेका थिए । निर्वाचनबाट केन्द्रीय परिषद सदस्यमा गायत्री खतिवडा, सिताराम अधिकारी,सुर्दशन खतिवडा र शंकर श्रेष्ठ निर्वाचित हुनुभएको छ भने प्रदेश परिषद सदस्यमा १० जना निर्वाचित भएका हुन् । महासङ्घको धादिङ शाखाका लागि १८ पदाधिकारीका लागि ३३ जनाको उम्मेदवारी परेको र जिल्लामा १ सय ५२ जना मतदाता मध्ये १ सय ४१ मात्र मत खसेको थियो।

 

२६ चैत्र २०७७, बिहीबार १०:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस