|  

प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेस

६ कार्तिक २०७८, शनिबार ०८:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभामा पेस भएको छ । शुक्रबार सभाको बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन् । 

बैठकलाई सम्बोधन गर्दै उनले बहुमत सांसदहरूले आफूलाई साथ दिने विश्वास व्यक्त गरे । मुख्ममन्त्रीले प्रस्ताव पेस गरिसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले ७ कात्तिक (आइतबार) दिउँसो साढे १२ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । प्रस्तावमाथिको मतदान आइतबार हुने सचिवालयले जनाएको छ । १० भदौमा नियुक्त भएका मुख्यमन्त्री आचार्यले २५ असोजमा प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए ।

यस्तो छ सभाको अंकगणित
९२ सांसद रहेको प्रदेश १ सभामा सत्ताधारी दल एमालेका ४१ सांसद छन् । पार्टी विभाजनअघिसम्म एमाले स्पष्ट बहुमतमा थियो । तर, दश सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि एमाले अल्पमतमा परेको हो ।

सभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन तथा संघीय लोकतान्त्रिक मञ्च र राप्रपाका एक–एक सांसद छन् । विपक्षी गठबन्धनमा सहजै बहुमत रहेकाले आचार्यको बहिर्गमन निश्चित देखिएको छ ।

तर, आचार्यपछि को मुख्यमन्त्री बन्ने भन्ने टुंगो भने विपक्षी गठबन्धनले लगाइसकेका छैनन् । केन्द्रमा प्रदेश १ को नेतृत्व एकीकृत समाजवादीलाई दिने शीर्ष नेताहरूबीच सहमति भएकाले आफूहरूले सरकारको नेतृत्व गर्ने एसका नेताहरू बताउँछन् । एसले सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन भए संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्नेछन् । साभार : नयाँ पत्रिका दैनिकबाट ।

६ कार्तिक २०७८, शनिबार ०८:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस