|  

प्रमद्वारा मन्त्रीमण्डल विस्तारको तयारी शुरू

१३ आश्विन २०७८, बुधबार ०८:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। सरकार गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन्। सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रीमण्डललाई पूर्णता दिन लागेका हुन्।

सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६/६ मन्त्रालय लिने विषयमा समझदारी बनेको भए तापनि कुन–कुन मन्त्रालय कुन दलले पाउने भन्नै अझै टुंगो लागिसकेको छैन। गृह, अर्थ, ऊर्जा, न्याय, कानुन तथा संसदीय मामिला, परराष्ट्र र स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिसकेका प्रधानमन्त्री देउवाले थप १६ मन्त्री नियुक्त गर्नेछन्।

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीहरूको नाम बुझाइसकेको बताइएको छ। बुधबारसम्म मन्त्रीमण्डल विस्तार हुने बताउँदै एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले भने– ‘गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार मन्त्रीमण्डलले अब पूर्णता पाउँछ।

त्यसै गरी, नेकपा माआवादी केन्द्रको पनि आज बुधबार बस्ने स्थायी समिति बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ। माओवादी नेता हरिबोल गजुरेलले स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री देउवालाई बुझाउने बताएका छन्। मंगलबारका लागि तय गरिएको स्थायी कमिटीको बैठक स्थगित भएर बुधबार सरेको थियो। जनता समाजवादी पार्टीले पनि मन्त्रीको नाम टुंगो लगाउन आन्तरिक गृहकार्य अगाडि बढाएको छ।

जसपाले आफ्नो मागअनुसार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा पठाउने मन्त्री छनोटका लागि परामर्श थालेको जसपाका नेता महेन्द्र राय यादवले बताए।पार्टीभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि जसपालाई मन्त्री छनोट गर्न भने सकस परेको छ।कांग्रेसबाट चार जना मन्त्री नियुक्त गरेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पार्टीभित्र मन्त्री छनोटका लागि आन्तरिक छलफल गरेका छन्। उनले पार्टीभित्र रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मन्त्री बनाउनेको नाम माग गरेको बताइएको छ। यो समाचार नेपाल समाचारपत्रमा छ।

१३ आश्विन २०७८, बुधबार ०८:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस