|  

फेरि पतिले मट्टितेल छर्केर श्रीमतीको शरीरमा आगो लगाए

१३ बैशाख २०७६, शुक्रबार ०६:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जनकपुर – धनुषामा एक नवविवाहिता निर्मला यादवलाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको दुई साता नवित्दै सिरहामा फेरि एक महिलालाई जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई पति बेचन मण्डलले मट्टीतल खन्याएर आगो लगाएको आरोप लागेको हो । कञ्चनको शरीरको ८० प्रतिशत भाग आगोले जलेको छ ।
घटनापश्चात कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् भने सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।
कञ्चनलाई घटनाकै बेला उद्धार गरेर प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर शरीरको अधिकांश भाग जलिसकेकाले उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार विहान ११ बजेतिरको हो । ‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौं ।’, उनले भने ( हामी घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजी कार्य जारी रहेको छ । घटना कसरी भएको हो भन्ने एकिन अहिलेसम्म भएको छैन ।हामी अनुसन्धान गरिरहेका छौं ।’
गत वैशाख ५ गते मात्र धनुषाको शहिदनगर नगरपालिका १ पुरवारी टोल चिरैयाकाी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टी तेल खन्यार आगो लगाएका थिए ।
घरायसी विवादको क्रममा घरमा कोहि नभएको मौकाछोपी लागुऔषध सेवनको कुलतमा फँसेका मुकेशले निर्मलाको हात खुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याई आगो लगाएर ढोका बन्द गरी फरार भएका थिए ।
त्यसपछि गाउँलेले निर्मलाको उद्धार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए । यहाँ उपचार सम्भव नभएपछि निर्मलालाई थप उपचारको लागि काठमाडौंको वर्ण हस्पिटलमा भर्ना गरिएको छ । निर्मलाको पनि शरीरको ४० प्रतिशत भाग जलेको छ । उनी अहिले जीवन मरणको संघारमा अस्पतालको शैय्यामा छिन् ।

१३ बैशाख २०७६, शुक्रबार ०६:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस