|  

बाग्मती प्रदेशसभामा पूर्व मन्त्री जम्कटेलको प्रश्न– एमालेको मात्रै जनमत अरूको चाहिँ सालको पात ?

५ कार्तिक २०७८, शुक्रबार ०८:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । वाग्मती प्रदेशसभामा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले ‘परमादेश’ भनेर होच्याउनेलाई जनमतको सरकार बनाएर देखाउन चुनौती दिएका छन् । वाग्मती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा जम्मरकट्टेलले यस्तो चुनौती दिएका हुन् ।
“परमादेशको सरकार भन्दै होच्याउँदै हुनुहुन्छ । एमाले बाहेकले प्राप्त गरेको मत चाहिँ सालको पात हो, यो जनमत होइन ?,” जम्मरकट्टेलले भने, “तपाईंसँग जनमत छ भने सदनको बहुमत देखाएर सरकार चलाउनुस् न ! किन भाग्दै हुनुुहन्छ ?”
उनले कपी शर्मा ओलीले सत्तामा टाँसिने र जनअधिकार मास्ने काम गर्दा बाध्य भएर संघर्ष गर्नुपरेको भन्दै त्यही संघर्षमा सहभागी अष्टलक्ष्मी शाक्यलाई पनि नैतिकता नगुमाउन आग्रह गरे ।
“ओली प्रवृत्तिविरुद्ध मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र हामी एउटै मोर्चामा लडेका हौँ । तपाईंहरू अहिले पनि ओली प्रवृत्तिका विरुद्ध आन्तरिक संघर्षमै हुनुहुन्छ,” जम्मरकट्टेलले भने, “तपाईं नैतिकता भएको व्यक्ति हो । मुख्यमन्त्री पदमा बस्दैमा नैतिकता गुमाउन जरुरी छैन ।”
उनले प्रदेशसभामा मुख्यमन्त्री बनेको दुईदिनभित्रै सरकार ढल्ने स्थिति भएपनि केन्द्रीय नेताहरूको सद्भावका कारण शाक्यको सरकार ६२ दिन टिकेको बताए ।
उनले एमालेकै सांसदहरू अनुपस्थिति हुनुले ओली प्रवृत्तिलाई उजागर गरेको भन्दै त्यस्ता विषयबाट प्रभावित नहुन पनि मुख्यमन्त्री शाक्यलाई आग्रह गरे ।
“नेकपा एमालेका सांसदहरू प्रदेशसभामा अनुपस्थित हुने रे ! सत्ता पक्षले नै संसद बहिस्कार गर्ने यो संसदीय पद्धतिका लागि नौलो भएपनि ओली प्रवृत्तिका लागि स्वाभाविक हो,” जम्मरकट्टेलले भने, “यहाँ मात्र होइन । लुम्बिनी प्रदेशसभामा आफैँले प्रस्तुत गरेको बजेटमाथिको छलफल बहिस्कार गरेको उदाहरण छ ।”
उनले जनमतका कुरा गर्ने एमालेले संसद, संसदीय व्यवस्था र जनमतको अपमान गरेको बताए ।

५ कार्तिक २०७८, शुक्रबार ०८:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस