|  

बेलबारी नगरपालिकाद्धारा पकेट क्षेत्रका किसानलाई कृषि सामग्री वितरण

१९ असार २०७८, शनिबार १८:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बेलबारीः मोरङको बेलबारी नगरपालिकाले कृषि पकेट क्षेत्रका किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गरेको छ ।

ती सामाग्रीहरु सुक्रवार एक कार्यक्रमका बीच बेलबारी नगरपालिका परिसरमा उपमेयर ढाकाकुमारी(तारा)पराजुलीले कृषक समूहलाई हस्तान्तरण गरिन् । सामाग्री हस्तान्तरण गरेपछि उनले अब समूहका आवद्ध किसानहरुले आफ्नो उत्पादन बृद्धि गर्ने विश्वास व्यक्त गरिन् । प्रदान गरिएका सामाग्रीहरु सहि सदुपयोग गर्न आग्रह गर्नुभयो। सामाग्री हस्तान्तरण कार्यक्रममा पकेट क्षेत्रका वडाअध्यक्षहरुको समेत सहभागीता रहेको थियो ।

पकेट विकास कार्यक्रम ‘प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना’ अन्तर्गत ५० प्रतिशत अनुदानमा सामग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रमअन्तर्गत वडा नम्बर ५मा धानबाली पकेट क्षेत्र ८नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बंगुर पकेट क्षेत्रका रुपमा बिकास भइरहेको कृषि विकास शाखाका प्रमुख विनोद दाहालले बताए । उनका अनुसार धान बालीका लागि ३० बिगाहा र तरकारी खेतिका लागि ३० बिगाहा जमिन छुट्याइएको छ । बंगुर पकेट क्षेत्रमा १ सय वटा बंगुरका माउसमेत वितरण गरिसकेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

धान पकेट क्षेत्रमा आवश्यक पर्ने सिँचाइका लागि बोरिङ, कुटो, कोदालो, बीउ, किटनाशक औषधि, स्प्रेमेसिन, मल, धान काट्ने मेसिन, धान सुकाउनका लागि त्रिपाल, बोरा, जोख्नका लागि तराजु लागायतका सामग्री नगरपालिकाले पकेट क्षेत्रका किसानलाई वितरण गरेको छ । यस्तै तरकारी पकेट क्षेत्रमा तरकारी टिप्नका लागि क्यारेट, मल, बीउ, किटनाशक औषधी, ठेलागाडा लगायतका सामग्री तरकारी पकेट क्षेत्रका किसानलाई वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

बंगुर पकेट क्षेत्रका लागि १ सय वटा बंगुरमा माउ वितरण गरिएको छ भने ५० वटा पुराना खोरलाई मर्मत गरी आधुनिक बनाउनका साथै बंगुरको खोरबाट निस्कने फोहोरको व्यवस्थापन गर्नका लागि पानी तथा पाइपको समेत व्यवस्थापन गरिएको नगर प्रमुख सुवेदीले बताए । पकेट क्षेत्रलाई जोनका रुपमा विकास गरेर लैजाने नगर प्रमुख सुवेदीको भनाइ छ । नगरपालिकाले एक वडा एक उत्पादनको नीति लिएर कृषिलाई पहिलो प्राथमिकता दिएको थियो ।

१९ असार २०७८, शनिबार १८:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस