|  

मधेस पुनः २०६५ कै अवस्थामा पुगेको छ

१३ बैशाख २०७६, शुक्रबार ०६:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी समितिको बैठक पाँच दिनदेखि राजधानीमा बसिरहेको छ । अध्यक्षमण्डलको निर्णयबाट चलिरहेको राजपा नेपालले धेरैपछि पदाधिकारीको बैठक बोलाएको हो । १३१ सदस्यीय पदाधिकारी बैठकमा सबैले धित मर्ने गरी आफ्नो कुराहरु राखिरहेका छन् । महाधिवेशन, समसामयिक राजनीतिक अवस्था, पार्टी एकीकरण विषयमा केन्द्रित भएर कुराकानी भइरहेको छ । प्रस्तुत छ राजपा नेपालमा सहमहामन्त्री तथा प्रदेश २ का नीति आयोग प्रदेश सरकारका सदस्यडा. सुरेन्द्रकुमार झासँग पार्टीको अवस्था र प्रदेश २ को अगामी नीति र योजनाको बारेमा रातोपाटीका लागि गरिएको कुराकानीः
देश २ का लागि अगामी नीति तथा योजना कसरी तयार भइरहेको छ ?
–सरकारका लागि रोडम्याप तयार गर्ने नीति आयोगको काम हो । तीन–तीनवटा मधेस आन्दोलनबाट उठेका सवालहरुलाई सम्बोधन हुने गरी नीति आयोगले आफ्ना योजना तर्जुमा गर्ने काम गरिरहेको छ । हामी आधारपत्र तयारीको अन्तिम चरणमा छौँ । एक हप्ताभित्र हामीले त्यो आधारपत्र घोषणा गर्छौं । त्यो सरकारको नीति तथा कार्यक्रम हुन्छ । पञ्चवर्षीय योजना तर्जुमा गर्ने चरणमा पनि छौँ । त्यो काम अगाडि बढेको छ । ६ प्रतिशत भूमिमा २२ प्रतिशत जनसङ्ख्याको बासोवास रहेको मधेस हो । घाना बासोवास भएको ठाउँ हो । हजारौँ वर्ष पुरानो बासोवास हो । त्यसैले हामी त्यहाँका लागि प्राथमिकतामा कृषिलाई राखेका छौँ । कृषिलाई आधुनिकीकरण गर्ने, कृषिमा आधारित उद्योगधन्दा व्यवसाय सञ्चालन गर्ने, वैदेशिक रोजगारमा गएका युवालाई कृषिमा कसरी आकर्षित गर्ने भन्ने विषयलाई प्राथमिकतामा राखेका छौँ । त्यसैगरी औद्योगिक क्रान्तिका लागि हामीले दोस्रो प्राथमिकतामा राखेका छौँ । भएको कलकारखानालाई कसरी स्तरउन्नति कसरी गर्ने, बन्द रहेका उद्योगलाई कसरी सञ्चालन गर्ने ती विषयमा पनि छलफल भइरहेको छ । पाँच हजार वर्ष पुरानो इतिहास बोकेको हिन्दूहरुको विशेष भूमि हो प्रदेश नम्बर २ । धार्मिक पर्यटकलाई हामीले तेस्रो प्राथमिकतामा राखेका छौँ । राजा सलहेसको गौरवपूर्ण गाथालाई हामीले योजनाबद्ध तरिकाले अगाडि बढाएका छौँ । धार्मिक पर्यटनका लागि आठवटा जिल्लामा धार्मिक केन्द्रविन्दु हुनसक्छ ती सबैलाई जोडेर पर्यटकीय सर्किट निर्माण गर्ने कुरालाई हामीले अगाडि बढाएको छौँ । हाम्रो प्रदेशका पर्यटकलाई अन्य प्रदेशको पर्यटकीय क्षेत्रसँग जोड्ने विषयलाई पनि अध्ययन गरिरहेका छौँ । स्वास्थ्य तथा शिक्षाको क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ । प्रदेश २ एकसे एक विद्वानहरुको भूमि हो तर हामी शिक्षामा पछाडि परेका छौँ । शिक्षामा हामीले रूपान्तरण ल्याउन खोजेका छौं । प्रदेश २ को पृथक पहिचानका लागि पाठ्यक्रम नै बनाउँने । मधेसमा बोलिने तीन चारवटा भाषालाई शिक्षामा हामी प्रयोगमा ल्याउँछौं । त्यसैले मधेसका हिरोहरु जसले मधेसका लागि योगदान दिएका छन् ती सबै व्यक्तिलाई जीवन तथा उहाँको योगदानलाई लिपीबद्ध गर्नेछौं । आठवटा जिल्लामा महिलामैत्री विद्यालय स्थापना गर्नुको साथै प्रत्येक जिल्लामा नमुना विद्यालय स्थापना गर्नेछौं । त्यसैगरि उच्च शिक्षाका लागि कृषि विश्व विद्यालय पनि स्थापना गर्नुको साथै सीपमुलक शिक्षाका लागि सीटीभिटी जस्तै संस्था निर्माण गछौं । प्रत्येक पालिकामा प्राविधिक शिक्षालयको व्यवस्था गर्नेछौं । खोपमा भिटामिन ए, पुडके, रगत अलपता, मृत्युदरमा हामी धेरै पछाडि छौं त्यसलाई राम्रो गर्नका लागि हामी स्वास्थ्यमा योजना बनाउन लागेका छौ । विरामी भइसकेपछि औषधी गराउने होइन, विरामी नै हुन नदिने कस्तो नीति हुने त्यसमा पनि छलफल गरिरहेका छौं । नमूना अस्पताल बनाउने योजना पनि बनाएका छौं । एक वर्ष विति सकेको छ अब बाँकी रहेको चारवर्षको अवधिमा ठोस रूपमा काम अगाडि बढाउनेछौँ ।

१३ बैशाख २०७६, शुक्रबार ०६:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस