|  

संसदले विनियोजन विधेयक पास गरेसँगै सरकारलाई खर्च गर्ने बाटो खुला

४ आश्विन २०७८, सोमबार १४:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। प्रतिनिधि सभाबाट विनियोजन विधेयक पास भएको छ। एमाले सांसदको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए। लगत्तै सभामुख अग्नी सापकोटाले विधेयक बहुमतले पास भएको घोषणा गरे। सभामुख सापकोटाले आर्थिक विधेयक, २०७८ माथि दफावार छलफलको लागि असोज ७ गते तोकेका छन्।

एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। सोमबार पनि एमालेले सभामुखमाथि ‘गम्भीर’प्रश्न उठाउँदै निरन्तर संसदमा नाराबाजी गरेको छ। अवरोधबीच सभामुख सापकोटाले संसदमा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट बनेको छ। विनियोजन विधेयकमाथिको छलफलमा नेमकिपाका सांसद प्रेम सुवाल मात्रले सहभागिता जनाएका थिए।

तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। प्रतिस्थापन विधेयक पारित नभएका कारण भदौ ३० गतेदेखि राष्ट्रिय ढुकुटीबाट सरकारले खर्च नै गर्न नपाउने स्थिति बनेको थियो। संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ।

४ आश्विन २०७८, सोमबार १४:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस