|  

सबै कम्युनिष्ट घटकबीच सहकार्य आवश्यक – मोहन वैद्य

८ श्रावण २०७८, शुक्रबार १९:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डु, ८ साउन– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कम्युनिष्ट शक्तिहरुबीच एकता र ध्रुवीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा वैद्यले सबै कम्युनिष्ट घटकबीच सहकार्य हुनुपर्ने प्रस्ताव राखे । सरकार, संसद र सडकमा भएका कम्युनिष्ट मिलेर अघि बढ्नुपर्ने वैद्यको भनाइ थियो ।

उनले कम्युनिष्ट पार्टीहरुभित्र सत्तामुखी प्रवृत्ति हाबी भएको भन्दै सत्ताभन्दा माथि उठेर जनताको सेवामा सक्रिय हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरे । कार्यक्रममा प्रचण्ड र नेपाल पनि अतिथि थिए । प्रचण्ड र नेपालप्रति नरम रुपमा प्रस्तुत भएका वैद्यले एमाले अध्यक्ष केपी ओलीको कटाक्ष गरे ।

ओलीले पटक पटक संविधान मिचेर संसदीय पार्टीहरुले भन्दै आएको लोकतान्त्रिक प्रणालीको धज्जी उडाएको आरोप लगाए । ओलीले म नै सर्वेसर्वा हुँ र अरु कोही होइनन् भन्ने अहंकार गरेकाले सत्ताच्युत भएको टिप्पणी वैद्यले गरे ।

८ श्रावण २०७८, शुक्रबार १९:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस