|  

सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक निष्कर्षबिना सकियो

२८ भाद्र २०७८, सोमबार १८:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक निष्कर्षबिना नै सकिएको छ। प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक सञ्चालनका लागि सहज वातावरण बनाउने भन्दै सर्वदलीय बैठक डाकेका थिए।
सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएपछि निष्कर्षहीन भएको हो। ‘सभामुखले छलफलजारी राख्नु भएको छ। निष्कर्ष केही निस्केको छैन। प्रमुख विपक्षी दलको नेताबिना यो बैठकको औचित्य भएन’ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने।
त्यस्तै जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि एमालेबिनाको छलफल कुनै निष्कर्ष नभई सकिएको बताइन्। ‘संसद् एमालेको हो एमालेले कुनै हठको भरमा, लिँडे कुरामा लाग्नु हुँदैन,’ उनले भनिन्, ‘संसद् बैठक सञ्चालनका लागि एमालेले वातावरण बनाउनु पर्छ। संसद् भनेको प्रतिपक्षीको हो। अझै एमाले त प्रमुख प्रतिपक्षी पनि हो।’
एमालेले आफूले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदको विषयमा सभामुखले निष्पक्ष भूमिका खेल्न नसकेको बताउँदै आएको छ। आफ्नो पार्टी विभाजनका लागि सभामुखले भूमिका खेलेको एमाले नेताहरुले आरोप लगाएका छन्। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसमा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी सहभागी थिए।

२८ भाद्र २०७८, सोमबार १८:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस