|  

ह्वासिन सिमेन्ट उद्योगसंग स्थानीय आन्दोलित

५ कार्तिक २०७८, शुक्रबार १०:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिकामा संचालनको अन्तिम तयारीमा रहेको ह्वासिन सिमेन्ट उद्योगसंग स्थानीय आन्दोलित भएका छन्।

उद्योगले सडक निर्माण गर्दा स्थानियबासिको जग्गा परेको र उक्त जग्गाको मुआब्जा माग गर्दै स्थानीय आन्दोलित भएका हुन्। उक्त बिषयलाई लिएर उद्यामेग कम्पनीले बेवास्ता गरेको भन्दै ह्वासिङ सिमेन्ट नारायणी प्रालि प्रभावित सरोकार समितिले धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहिबार बेनिघाट रोराङ, गजुरी र सिद्धलेक गाउपालिकाका स्थानीयहरु सम्मिलित ह्वासिङ सिमेन्ट नारायणी प्रालि प्रभावित सरोकार समितिले १५ बुदे माग राख्दै प्रजिअ लम्साललाई ज्ञापनपत्र बुझाएका हुन् । उद्योगले सडक निर्माण गर्दा स्थानियबासिको जग्गा परेकोले जग्गाको मुआब्जा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको आन्दोलनरत् स्थानियहरुले बताएका छन् ।

मलेखु ताल्ती १० किलोमिटर सडक खन्ने काम गर्दा सय भन्दा बढी स्थानियको जग्गा सडकमा परेकोले उद्योगले मुआब्जा दिनुपर्ने माग सरोकारवालाहरुको रहेको सरोकार समितिका संयोजक अनुप धरेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई बुझाईएको ज्ञापनपत्रमा १५ शुत्रीय माग समावेश गरिएको छ ।

स्थानीयबासीलाई रोजगारी दिनुपर्ने, सिमेन्ट उद्योगको रोयल्टी प्रभावित क्षेत्रमा खर्च गर्नुपर्ने, पर्यावरण संरक्षण हुनेगरि उद्योग संचालन गर्नुपर्ने, स्थानीय विद्यालय, मन्दिर, गौचरण, खेलमैदान लगायतका सार्वजनिक स्थानहरुको संरक्षण गर्नुपर्ने, उद्योगका कारण विस्थापित हुने परिवारलाई राहत र पुनस्थापना गर्नु पर्ने माग सरोकार समितिले राखेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लम्सालले पनि उद्योगले बनाएको संरचना र सरकारले बनाएका नितिहरु हेरेर जनताको माग सम्बोधन गर्ने विषयमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

५ कार्तिक २०७८, शुक्रबार १०:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस