|  

१७ दिनपछि भागरथिकाे शव जलाइयाे

८ फाल्गुन २०७७, शनिबार १४:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको शव बुझी परिवारले शुक्रबार महाकाली नदी किनारमा अन्त्येष्टि गरेका छन् । पोस्टमार्टमपछि उनको शव १५ दिनदेखि जिल्ला अस्पताल बैतडीमा थियो ।
माघ २३ गते घटनास्थलबाट शव उठाएर २४ गते पोस्टमार्टम गरिए पनि घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तको अडान थियो । प्रहरीले बुधबार घटनामा संलग्न रहेको भन्दै भागरथी अध्ययनरत विद्यालयकै ११ मा पढ्ने १६ वर्षका एक किशोरलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।
बिहीबार सरकारी वकिल कार्यालयमा अभियुक्त र उनका बुबालाई सँगै राखेर लिइएको बयानमा किशोरले बलात्कार र हत्या आफैंले गरेको स्विकारेपछि परिवारजनले शव बुझ्ने निर्णय गरेका हुन् । घटना उनी एक्लैबाट सम्भव नहुने भन्दै पीडित परिवारले विधिविज्ञान प्रयोगशालाको प्रतिवेदन आएपछि मात्रै शव बुझ्ने बताउँदै आएका थिए । प्रयोगशालामा पठाइएको मृतकको भजाइनल स्वाब, मुखको स्वाब, योनिबाट निस्किएको रगतको मेडिकल रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।
प्रहरीको प्राविधिक, स्थलगतलगायतका अनुसन्धानबाट उनी नै आरोपित भएको विश्वास लागेपछि शव बुझेको मृतकका काका शिवराज भट्टले बताए । ‘मृतक र अभियुक्त दिनेश भट्ट दुवै हाम्रै हुन् । प्रहरीको अहिलेसम्मको अनुसन्धानबाट ऊ दोषी हो भन्ने प्रमाणित भएपछि शव बुझेर दाहसंस्कार गरेका हौं,’ उनले भने । आरोपितलाई अपराधीका रूपमा सजाय गरेपछि मेडिकल रिपोर्टसहित अन्य तथ्य प्रमाण परिवारलाई विश्वस्त पार्ने खालको हुनुपर्ने माग प्रहरी प्रशासनसँग राख्दै शव बुझिएको उनको भनाइ छ ।
माघ २१ गते भागरथी विद्यालयबाट घर जाने समय भएपछि आफू पनि कक्षा छाडेर गएको अभियुक्तले बयानमा बताएका छन् । बाटोमा ढुकेर बसेका बेला उनी आएपछि धकेलेर सडकबाट तल फालेको, लडेपछि घाँटी च्यापेको र बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले बतायो । बलात्कार गरेपछि मृतकले ‘नमार छोडी दे’ भने पनि घर गएर अरूलाई भन्ने डरले फेरि घाँटी थिचेर मारेको र त्यहाँबाट घरतर्फ हिँडेको पनि अभियुक्तले बयान दिएका छन् ।
अभियुक्त सार्वजनिक गरेसँगै प्रहरीले बुधबार जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी सनातन धर्म माविमा कक्षा १२ मा पढ्थिन्

८ फाल्गुन २०७७, शनिबार १४:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस