|  

२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन

२० बैशाख २०७७, शनिबार ०९:४७ प्रकाशित
प्रदेश हव न्युज डेस्क


पश्चिमा मिडियाले गरेको मृत्युको प्रचारलाई फेरि झुट सावित गराउँदै उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएका छन्। दक्षिण कोरियाली मिडियाले किम २० दिनपछि सार्वजनिक समारोहमा देखा परेको उल्लेख गर्दै उनको स्वास्थ्य सम्बन्धी खबरहरु हल्लामात्र सीमित भएको जनाएको छ।

प्योङयाङ नजिकै रहेको सनचेनको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहमा उनी सहभागी भएका हुन्। उनी सहभागी भएको कार्यक्रमको फोटो तत्कालै सार्वजनिक गरिएको थियो।

कोरियन सेन्ट्रल न्युज एजेन्सीले जारी गरेको रिपोर्ट अनुसार मल उद्योगको रिबन काटेर किमले उद्घाटन गरेका थिए। उनले सुनचन फस्फोटिक मल उद्योगको उद्घाटन गरेलगत्तै उनको तस्बिर बाहिर आएको हो।

अप्रिल ११ मा कोरोना भाइरसविरुद्धको एउटा छलफलमा सहभागी भएपछि किम जोङ उन सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्। उनका हजुरबुबाको जन्मोत्सव समारोहमा सहभागीसमेत नभएपछि उनको स्वास्थ्य अवस्था बारे पश्चिमा मिडियाले खबरहरु सार्वजनिक गरेका थिए जसमा उनको मृत्युसम्मका जानकारी समेटिएका थिए। यसअघि पनि पटक पटक उनको मृत्युको खबर झुटो सावित भइसकेको छ।

यतिसम्म कि यसपाला किमपछि उत्तर कोरियाको नेतृत्वमा को आउँछ भन्ने आँकलनहरुसमेत मिडियाको खोजको विषय बनेका थिए।
तस्बिर: सामाजिक संजाल

 

२० बैशाख २०७७, शनिबार ०९:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस