|  

जातीय विवाद नफैल्याउन गायक शम्भु राईको आग्रह

१० असार २०७६, मंगलवार १५:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बरिष्ट गायक एवम् संगीतकार शम्भु राई र अहिले चर्चामा रहेका युवा गायक प्रकाश सपूतको गीत विवादको विषयमा एक श्रोता सुवास मँगोलले सामाजिक सञ्जालमा लेखेको एउटा जातीय स्टाटसले निकै बिबाद जन्माएको छ ।

यो विवादले अहिले फेस बुकमा आरोप प्रत्यारोप बढेको छ । सो स्टाटसका कारण यस्तो भएकोमा बरिष्ट सँगीतकार एवम् गायक शम्भु राईले यस विषयमा शान्त हुन र यो मुद्धामा जातीय प्रसँगलाई कत्ति पनि नउठाउन सबैलाई अनुरोध गरेका छन् । उनले सोमबार बेलुका आफ्नै फेसबुकमा स्टाटस लेख्दै यस्तो अनुरोध गरेका छन् ।

जातीय विभेद र छुवाछुत प्रथाको बिरुद्ध गीत गाउँदै हिँडेका बरिष्ट गायक राईले आफुले धेरै अघि गाएको छुवाछुत बिरुद्धको एउटा गीतलाई स्मरण गराउँदै यस्तो लेखेर जातीय विवाद नल्याउन अनुरोध यसरी फेसबुक मार्फत गरेका छन् ।

‘मानिस छुत अछुत हुन्छ म भन्दै भन्दिन
जाति र पाती छुट्याउने रीतलाई म मान्दै मान्दिन..

२०३४ साल देखि जातीय मुक्तिको लागि सांगीतिक क्रान्ती गर्दै जनताको माझमा गाउँदै आएको म शम्भु राईबाट स्वदेशदेखि बिदेशसम्म रहनु हुने मेरा आदरणीय श्रोता दर्शकज्युहरु प्रति हार्दिक हार्दिक नमस्कार, अभिवादन गर्दछु ।
केही दिन यता गायक तथा संगीतकार भई प्रकाश सपूतले म्युजिक भिडियो युट्युबबाट गलबन्दी बोलको गीत सार्वजनिक भएको देखियो । उक्त शब्दमा मेरो देउसी भैलो गीत को आउ नाचौ साथी हो…भन्ने शब्दमा राखिएको मेरो कम्पोज (भाका लय) मिल्न गएको विवादित विषयमा नितान्त प्रतिलिपि अधिकारसँग सम्बन्धि रहेको अवगात गराउन चाहन्छु । साथै यही बिषयलाई लिएर सामाजिक सञ्जालमा निकै टिका टिप्पणीका बीच जातीय बिभेद र सामाजिक सदभाव खल्बलिने मनसायले केही आप्पत्तिजनक अभिव्यक्ती प्रकट भएको देखिएको र सुनिएको हुँदा त्यसप्रति म धेरै दुःखीत छु । साथै यस्ता अमर्यादित किसिमले सामाजिक सञ्जालबाट कसैले पनि अभिव्यक्ती नदिनु हुन सम्पूर्ण दाजु, भाई, दिदी, बहिनीहरुमा बिनम्र अनुरोध गर्दछु ।

धन्यबाद , शम्भु राई ’

१० असार २०७६, मंगलवार १५:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस