|  

भद्रगोल विवाद : जिग्री-पाँडे अदालत जाने

२२ भाद्र २०७६, आईतवार ११:१० प्रकाशित
प्रदेश हव न्युज डेक्स


भाद्र २२, काठमाडौं ।
नेपाल टेलिभिजनबाट प्रशारित हुने चर्चित हास्य टेलिशृंखला भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले मिडिया हबले अन्याय गरेको भन्दै अदालत जाने बताएका छन् ।

करीब चार वर्ष अघि कुमार कट्टेल र अर्जुन घिमिरेको समूहले शुरु गरेको यो हाँस्य टेलिशृंखला शुक्रवार देखि नयाँ कलाकार सहित मिडिया हबले प्रसारणमा ल्याएको छ । यो नयाँ भाग प्रसारण भएदेखि मिडिया हब र जेपिटी (जिग्री पाँडे टिम) क्रियशनकोे विवाद सतहमा देखिएको छ ।

भद्रगोलको नयाँ कलाकार सहित प्रसारित नयाँ भागमा पुरानै भद्रगोलको निरन्तरता हो भनेर देखाउन खोजिएको छ । यसले पुराना समूह चिढिएका छन् ।

भद्रगोलका कार्यक्रमका अर्का परिकल्पनाकार, लेखक तथा कलाकार जिग्रीले भने, “हामी सर्जकलाई ढाँटेर, छलेर मिडिया हबले भद्रगोल आफ्नो ट्रेडमार्क बनायो । पारिश्रमिक पनि दिएको छैन । हुँदा हुँदा शुक्रबार को नयाँ एपिसोडमा हामीले निर्माण गरेको पुरानो भागको क्लिप समेत राखेछ । त्यसको शीर्ष गीत समेत सर्जकलाई थाहा नदिई राखेको रहेछ । यो त ज्यादती नै भयो नि । यो ज्यादतीको विरुद्ध हामी भोलि अदालत जाँदैछौं ।”

उनीहरुले नयाँ भाग निर्माणमा संलग्न सबै विरुद्ध उजुरी गर्ने तयारी गरेको बताएका छन् । परिकल्पनाकार, लेखक तथा कलाकार कुमार कट्टेल (जिग्री) भन्छन्, “यो त नेपाल टेलिभिजनको पनि कमजोरी हाे । कार्यक्रम सेन्सर नगरी प्रसारण गरेको पाइयो त्यसले गर्दा हामी नेपाल टेलिभिजनमा पनि ध्यानाकर्षण पत्र बुझाउने तयारीमा छौं ।”

घिमिरेका अनुसार उनीहरुको सम्झौता अनुसार एक सय ७६ भागको पारिश्रामिक पाएका छैनन् । घिमिरेले भने, “जेपिटी (जिग्री पाँडे टिम) क्रियशन मार्फत भएको पछिल्लो ४३ भागकोे पनि ७ लाख पारिश्रमिक हामीले पाउन बाँकी छ । अब हामी सिर्जना चोरीसँगै बाँकी रहेको हाम्रो पारिश्रमिक पाउनुपर्ने माग सहित अदालत जाँदैछौं ।”

घिमिरेले बताए अनुसार एक भागको ४५ हजार पाउने सम्झौताबाट शुरु भएको र पटक पटक सम्झौता नवीकरण हुँदै प्रति भागको एक लाख पाँच हजार पारिश्रमिक पाउने सम्झौता भएको थियो ।

भद्रगोलको प्रसारित नयाँ भाग युट्युबमा राखिएको छ । उक्त भिडियोमा अधिकांश दर्शकले भद्रगोलका पुरानै कलाकार हेर्न चाहेको र अत्यन्तै खराब रहेका भनेर नकारात्मक प्रतिक्रिया दिएका छन् ।

जिग्री भन्छन्, “दर्शक पनि हाम्रो साथमा हुनुहुन्छ भन्ने लागेको छ ।” गत असार मसान्तदेखि उनीहरु बीचको सम्झौता सकिएको हो ।

मिडिया हबले निर्माण गरिरहेको नयाँ भद्रगोलमा पुरानो भद्रगोलका कुनै पनि कलाकार नरहेको घिमिरेले बताए । उनीहरु जेपिटी क्रियशन मार्फत नयाँ नाम तर उस्तै विषयवस्तु भएको हास्य टेलिशृंखला लिएर असोज दुई गतेदेखि नेपाल टेलिभिजन मार्फत आउने जानकारी दिए ।

हिजो प्रशारित भद्रगोलमा पुराना पात्रहरु जिग्री, पाँडे, बले, कक्रोज, बुवीका बाउ, सिते बा, काकु, जयन्ते, रक्षा, एकदुमे लगाएतका कलाकारहरु समेटिएका छैनन् । नयाँ कलाकारहरुमा भने मङ्गल थाडु, बाहुन डन, सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिनाको अभिनय रहेको छ ।
श्रोत: लेकाली अनलाइन

२२ भाद्र २०७६, आईतवार ११:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस