|  

धादिङको गजुरीमा पाटे बाघको छाला सहित ६ जना पक्राउ

८ मंसिर २०७६, आईतवार १९:०३ प्रकाशित
प्रदेश हव न्युज डेक्स


धादिङ ०८ मङ्सिर
गजुरी गाउँपालिका वडा नं २ चालिसेबाट शनिबार प्रहरीले पाटे बाघको छाला सहित ६ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं ३ का ३७ वर्षीय भाइराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का ५७ वर्षीय सन्त तामाङ र बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ का २१ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

पाटे बाघको छाला बेचविखन गर्ने उद्देश्यले ओसारपसार हुँदैछ भन्ने गोष्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त प्रहरीको टोलीले वालसिंह भन्ने ठाउँबाट पक्राउ गर्न सफल भएको हो ।

वालसिंह भन्ने ठाउँबाट राजमार्गतर्फ मोटरसाइकलमा बोकी ल्याईदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनु भयो । प्रहरीले बाघको छालासहित उनीहरु सवार बा १८ प ९६९३ ग ७ प ५९६३ र ग ६ प १६४५ नम्बरको मोटरसाइकल र ६ थान मोवाइल सेट समेत बरामद गरेको छ ।

पक्राउ गरिएको बाघको छाला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

८ मंसिर २०७६, आईतवार १९:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस