|  

मकवानपुरमा दादुरा रुवेला खोप अभियान सञ्चालन हुँदै

२१ फाल्गुन २०७६, बुधबार १२:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मकवानपुर– मकवानपुरमा आगामी चैत्र महिनामा दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । मंगलबार जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले चैत महिनामा पाँचाँै राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ मन्त्रालयको राष्ट्रिय कार्यक्रम अनुसार नै मकवानपुरमा अगामी चैत १ देखि ३० गतेसम्म अभियान सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा प्रदेश नं १, २, ५ मा फागुन महिना भरी अभियान संचालन भईरहेको र दोस्रो चरणमा बागमती प्रदेश, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशमा खोप अभियान सञ्चालन गर्ने सरकारको तयारी अनुसार नै मकवानपुरमा आगामी चैत्र महिनामा सो अभियान संचालन हुने उहाँले जानकारी दिनुभयो । अभियानमा ९ महिना देखि ५ वर्ष मुनीका सम्पुर्ण बालवालीकालाई जिल्ला स्थित स्वास्थ्य संस्थाहरु मार्फत दुई चरणमा खोप अभियान संचालन गर्ने निर्णय भएको प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाले अभियानका बारेमा आ–आफ्नो मातहतका कार्यालयलाई जानकारी गराउने तथा जिल्ला स्थित स्थानीय तहहरुलाई जिल्ला समन्व्य समितिले अभियान बारे पत्राचार मार्फत जानकारी गराएर समन्वय गर्ने निर्णय भएको छ । साथै अभियानलाई सफल बनाउन जिल्ला स्थित संचार माध्यमहरु मर्फत व्यापक प्रचार प्रसार गर्ने निर्णय भएको प्रमुख खुलालले जानकारी दिनुभयो । साथै उहाँले आगामी चैत्र महिनामा सञ्चालन हुने दादुरा रुवेला खोप अभियानलाई सफल बनाउन सबैलाई आग्रह समेत गर्नुभएको छ । बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलगायत समितिका सदस्यहरुको उपस्थिती थियो ।

२१ फाल्गुन २०७६, बुधबार १२:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस