|  

‘अकोराव’को बदनाममा लाग्ने लाई कारबाही हुनु पर्छ, संयोजक न्यौपानेको

२९ चैत्र २०७६, शनिबार १२:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय
समिति कपिलवस्तुका संयोजक चन्द्रकान्त
न्यौपानेले प्रसारक संघको परिधिभित्र अटाउन
नखोज्ने जिल्लाका दुई रेडियोका व्यवस्थापकलाई
कारबाहीको माग गर्नु भएको छ । जिल्लामा ३
महिनाअघि गठन भएको प्रसारक संघ जिल्ला
समन्वय समितिको काममाथि निराधार प्रश्न उठाउँदै अकोरावकै बदनाम गर्न लागि परेकाले जिल्लाको बाणगंगा नगरमा रहेको सामुदायिक रेडियो बुद्धआवाज ८९ विन्दु ६ मेगाहर्जका व्यवस्थापक भेषराज पाण्डे र बनगाईमा रहेको रेडियो बाणगंगा ९० दशमलव ६ मेगाहर्जका व्यवस्थापक गशेण पोख्रेललाई संयोजक
न्यौपानेले कारबाही गर्न माग गर्नुभएको हो ।

न्यौपानेले समन्वय समितिको जिम्मेवारी पाएपछि बिभिन्न महत्वपूर्ण काम भएको भए पनि जिल्लामा आफूविरुद्ध मोर्चाबन्दीमा लागेर असफल बनाउन यी दुई ब्यक्ति नियोजित रुपमा लागेको बताउनु भएको छ । भव्य रुपमा फागुन १ गते रेडियो दिवस मनाउन आग्रह गर्दा पनि नआउने, रेडियो दिवस मनाएको कार्यक्रमलाई वहिष्कार भन्दै रेडियो र अनलाइनबाट खबर प्रसारण गर्ने, अन्य सदस्य रेडियोलाई आफूविरुद्धको मोर्चाबन्दीमा दबाब दिने, तीन महिनामै समन्वय समितिले काम गरेन भनेर मिडियाबाजी गर्ने, झुटा लाञ्छना लगाएर आफूलाई कारबाही माग गर्ने इत्यादी कामहरु गर्न पाण्डे र पोख्रेल लागेकाले तत्काल कारबाही गर्न उहाँको माग छ ।

चित्त नबुझेको कुरा आन्तरिक रुपमा छलफल गरेर समाधान हुने विश्वभरीको विधिलाई कुल्चेर आफ्नो चरित्र हत्या गर्ने गरी मिडियाबाजी गरेकोमा न्यौपानेको घोर आपत्ति छ । साथै न्यौपानेले प्रदेश अध्यक्ष केपि घिमिरे, उपाध्यक्ष राजु खराल र जिल्लाका बिभिन्न १२ रेडियोले हस्ताक्षर गरी आफूलाई सर्वसम्मत चुनेपछि अकोराव माथि नै हबला दिँदै बुद्ध आवाजका ब्यवस्थापक पाण्डे र बाणगंगाका ब्यवस्थापक पोख्रेलले एकलौटी र आफै संयोजक पद खडा गरी मनोमानी गरेको समाचार सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै ती दुई माथि पनि छानबीन गरी कारबाही गर्न माग गर्नुभएको छ ।

कोरोना महामारीले मुलुक थिलोथिलो भएको बेला समन्वय समिति पुर्नगठन भन्दै आवाज उठाउनु बेमौसमको बाजा भएको न्यौपानेको भनाई छ । नेतृत्वले रेडियोमा बेथिति ल्याएको, विवाद सिर्जना गरेको, एकलौटी गरेको, समन्वय नगरेको लगायतका आरोपहरुलाई प्रमाणित गर्न उहाँले मोर्चाबन्दीमा लागेका रेडियोकर्मीहरुलाई चुनौति दिनु भयो–“म विधिसम्मत चयन भएको संयोजक हुँ । हट्नै परे विधिसम्मत हट्छु । अकोरावको पनि प्रकृया छ । तर आफुलाई असफल बनाउन कोही लाग्दैमा म कदापी हट्दिनँ । आधादर्जन अनलाइन र रेडियोमा समाचार प्रसारण गरेर चरित्र हत्या जुन भइरहेको छ । त्यसको सम्बन्धित ब्यक्तिले मुल्य चुकाउनु पर्दछ ।”

अघिल्लो अकोरावमा भेषराज पाण्डे प्रदेश ५ को अध्यक्षमा पराजित भएपछि अकोराव विरुद्ध लागेको र जिल्लामा पुरानो रेडियो र पुरानो पत्रकारको दम्भ प्रस्तुत गरेको बताउनु भएको छ । न्यौपानेले भन्नुभयो,“समिति गठन गर्दा पनि पाण्डे र जानाजान नआएको र आफू संयोजक भएको दिनदेखि नै गठन प्रकृया विधिसम्मत नभएको भन्दै अनेक प्रचारबाजीमा लागेको बताउनु भयो । साथै बाणगंगाका पोख्रेल पनि अकोरावलाई राजनीति गर्ने भाँडो बनाउन लागेको बताउनु भयो । उहाँले भन्नुभयो, “यी दुवैले म आवद्ध संस्था मायादेवी रेडियोको लोपप्रियता सहन नसकि इगो साँधिरहेका छन् । यो इगो अकोरावमा पोख्नु मिकार्थ राम्रो होइन । यसबाट म रत्ति पनि विचलित छैन ।”

न्यौपानेले बारम्बार समिति पुर्नगठन गर्ने तागत प्रस्तुत गर्ने रेडियो बाणगंगाका पोख्रेललाई समिति पुर्नगठन गर्न चुनौति दिनुभएको छ । साथै यी २ रेडियोले समन्वय समितिले तयार पारेर पठाएको कोरोना सचेतना रेडियो सामग्री प्रसारण नगरेकोमा पनि आपत्ति जनाउनु भएको छ । विश्वमा कोरोना महामारी सुरु भएपछि जिल्लामा पनि आम नागरिकमा त्रास सिर्जना भएको भन्दै आफूले रेडियो सामग्री बनाई पठाइसकेको न्यौपानेले बताउनु भएको छ ।

आफ्नो मुल्यांकन गर्ने समय अझै नभएको भन्दै आफूविरुद्ध गरिएको प्रयास बदनाम गर्ने षडयन्त्र भएको उहाँको भनाई छ । ‘देश एक महिना लक डाउनमै छ, रेडियो दिवस मनाउने, प्रदेश स्तरीय कार्यक्रममा दाङमा सहभागिता जनाउने, कोरोना सचेतना जगाउने, संघसंस्थासंग समन्वय गर्ने कामहरु भइरहेको छ । संस्थागत हित हुने योजना बनिरहेको छ । साथीहरुलाई के चाहिएको हो ? उहाँको प्रश्न छ ।’ उहाँले आफूलाई काम गर्ने बातावरण दिन आग्रह गर्दै काम नहुँदाको दिन आफै राजिनामा दिने बताउनु भयो ।

साथै यी २ रेडियोले सिआइएनको साझा खबर विहानमा नबजाई अन्य कम्पनीका खबर प्रसारण गरेकाले थप कारबाही गर्न न्यौपानेको माग छ । यसअघि पनि संघले यी दुई रेडियोलाई पटकपटक साझा खबर बजाउन आग्रह गर्दा पनि अटेरी गरेको आफूले पाएकोले आफ्नो कार्यकालमा संघको दायरामै ल्याएर छाड्ने प्रतिवद्धता जनाउनु भयो ।

यी २ रेडियोको विषयमा प्रदेश ५ का अध्यक्ष केपी घिमिरेलाई मौखिक र केन्द्रमा लिखित रुपमै जानकारी दिइसकेको उहाँको भनाई छ । कपिलवस्तुमा ३ महिनाअघि प्रसारक संघको समन्वय समितिको जिम्मेवारी पाएदेखि नै सामुदायिक रेडियो शुद्धिकरण गर्ने प्रतिवद्धता जनाउनु भएका न्यौपानले भन्नुभयो,”सामुदायिक रेडियो हुँ भनेपछि प्रसारक संघको परिधिमा आउनै पर्दछ । साझा खबर बजाउनै पर्दछ । यस्ता रेडियोलाई केन्द्रले पनि कारबाही गर्नुपर्दछ ।”

आफूले जिल्लाबाट देशभरकै लागि यो सन्देश लिएर जाने र आगामी महाधिवेशनमा मूर्त रुपमा यो कुरा उठाउने बताउँदै संयोजक न्यौपानेले यदि जिल्लाका अन्य रेडियोले पनि नियमबाहिर रहेर काम गरेको भए तुरुन्त सच्चिन अनुरोध गर्नुभयो । साथै लकडाउन अवधिभर विहान साँझको साझ खबरसंगै सिआइएनको विहान साढे ११ बजे र दिउँसो साढे २ बजेको कोरोना सचेतना विशेष साझा खबर बजाउन पनि अनुरोध गर्नुभएको छ । एकपटक कोरोना जिंगल बनाएर सबैलाई पठाइ सकिएको भए पनि पुनः आ आफ्नो स्थानको समुदायलाई केन्द्रित गरी सोही भाषामा जिंगल बनाएर प्रसारण गर्न उहाँको आग्रह छ ।

बाणगंगाबाट जिल्लाका सामुदायिक रेडियोको शुद्धिकरणको अभियान सुरु भएको बताउँदै पहिला यी रेडियोलाई संघको दायरामा ल्याउने र लक डाउन लगत्तै जिल्लाभरका रेडियोको शुद्धिकरण र गुणस्तरीयतामा आफू लाग्ने बताउनु भयो । प्रदेश ५ का अध्यक्ष केपी घिमिरेले पनि संस्थाको बदनाम गराउन लाग्नेहरुमाथि संयोजकको हैसियतले कारबाही माग गर्नु स्वाभाविक भएको बताउँदै आफूले पनि केन्द्रमा यस विषयमा कुरा राख्ने बताउनु भयो ।

यस विषयलाई मिलाउँ भन्दा प्रदेश उपाध्यक्ष राजु खरेलले पनि खासै चासो नराखेका कारण खरेलको भूमिकाप्रति पनि न्यौपानेको प्रश्न छ । साथै सामाजिक सञ्जालमा राउटे, जंगली र भगौडाको संज्ञा दिने महासंघका एक जना केन्द्रिय पनि आफूविरुद्ध जाइलागेकोमा न्यौपानले दुख ब्यक्त गर्नुभयो । रेडियो दिवस कार्यक्रम बहिस्कार गर्दा छुट्टै व्यक्तिको प्रयोग गरेका पाण्डेले अहिलेको परिस्थितीमा महासंघका सदस्यलाई प्रयोग गरेका छन ।

२९ चैत्र २०७६, शनिबार १२:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस