|  

संरक्षण र पर्यटकको पर्खाइमा तुँदी झरना

२३ बैशाख २०७७, मंगलवार ०९:५० प्रकाशित
राजन अधिकारी

सम्पादक



राजन अधिकारी
धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ मा पर्ने तुँदी झरना पर्यटकको पर्खाइमा सुसाउँदै झरिरहेको छ । विशाल चट्टानबाट झरिरहेको झरनाले स्थानियहरुलाई लोभ्याइरहेको छ । तुँदी झरना प्रचारप्रसार अभावले ओझेलमा पर्दै आएको हो । पृथ्वी राजमार्गबाट नजिकै रहेको यो झरनामा मलेखु माछाबजारवाट मलेखु भण्डारा चेपाङ मार्ग हुँदै मोटरमा डुँडेठाँटी हुँदै पुग्न सकिन्छ ।
विगतका वर्ष गजुरी गाउँपालिकाले पहिचान गरि गुरु योजना बनाई काम गर्ने तयारी गरेको यस झरनामा अहिले दैनिक जसो आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । सामाजिक संजाल र विभिन्न संचारमाध्यममा आएको समाचारको आधारमा अचेल दैनिक २०० जनाको हाराहरीमा स्थानिय पर्यटक मनोरञ्जन लिन आउने गरेता पनि प्रचार प्रसारको अभावले वषौं देखि झरिरहेको झरनामा अहिले सम्म बाह्य पर्यटक भने पुग्न नसकेको स्थानिय समाजसेवी रामशरण डल्लाकोटीले बताउनु भयो ।

विश्व अहिले कोरोना राग संग लडिरहेको छ । कोरोनाका कारण विगत लामो समय देखि जारी जारी लकडाउनका कारण वाक्क भएकाहरु शान्त र रमाईलो ठाउँ खोज्दै तुँदी भरना पुगे पछि यसको विस्तारै प्रचार हुन थालेको हो । हरियाली वनले ढाकेको खोल्सामा एक सय मिटर भन्दा माथिको उचाईबाट पानी झरेर बनेको सो झरना निकै मनमोहक छ । प्रचार प्रसारको अभावले टाढा टाढाबाट मानिसहरु नआइ पुगेपनि स्थानीयहरु समुह समुहमा गएर झरनामा मनोरञ्जन लिने गर्दछन् ।
झरना सम्म पुग्ने बाटो धेरै साँघुरो भएको र चिप्लो भएका कारण आवात जावतमा समस्या आएको भन्दै त्यसको मर्मत संभार गरिदिन स्थानिय सरकारलाई स्थानियले आग्रह गरेका छन् । झरनामा धादिङ मलेखुकी ईन्दिरा त्रिपाठीले पनि बाटो सहज भए अझ पर्यटक बढ्ने बताईन् । तुँदीलाई चुम्न जाँने धेरैको चासो त्यहाँ सम्म पुग्ने बाटोको मर्मत संभार नै रहेको छ । तत्कालको लागि बाटो नै पहिलो प्रथामिकता हो, पछि विस्तारै यसको अन्य पूर्वाधारको विकास गर्न सके आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत आउन सक्ने गजुरी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चुँडामणी कँडेलले बताउनु भयो ।

गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेतका अनुसार पालिकाले तुँदी झरनालाई पर्यटकिय गन्तव्यको रुपमा संरक्षण, सम्बद्र्धन र प्रर्वद्धनका लागि गुरु योजनामा नै समावेश गरेको छ । देश अहिले कोरोना रोग सँग लडिरहेको भन्दै अध्यक्ष वस्नेतले भने ‘लकडाउन खुले पछि तत्काल बाटो निर्माण सहित झरनालाई रमणीय वातावरण बनाउने प्रक्रिया अघि बढाईने छ ।’ पालिका भित्र रहेका पर्यटकिय क्षेत्रको डिपिआर बनाएर यसको प्रर्वद्धनमा अघि बढ्ने योजनामा पालिका रहेको अध्यक्ष बस्नेते बताउनुभयो ।
लकडाउन खुले लगतै झरना सम्म पुग्न सकिने सडक बिस्तारदेखि विभिन्न आकर्षण संरचना र पिकनिक स्पट निर्माण गर्न प्राविधिकहरुसँग बसेर छलफल गरि योजना बनाउने तयारीमा रहेको बस्नेतले जानकारी दिनु भयो । जिल्ला कै महत्वपूर्ण पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु पर्ने यस झरनामा स्थलगत निरिक्षण गर्दै गजुरी गाउँपालिकाकी उपाध्यक्ष सिता ढुंगानाले तुँदी झरनाको विकास र प्रचारको लागि अव आउने निती तथा कार्यक्रममा यसलाई समावेश गरिने भन्दै यसको प्रचार प्रसारको लागि सवै लाग्नु पर्नेमा जोड दिनु भयो । ढुंगानाले झरनाबाटै भन्नु भयो, ‘ गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको विकासले आर्थिक विकास सँगै रोजगारीको पनि ठुलो सम्भावना बोकेको छ । तुँदी झरना लगायत गाउँपालिका भित्र रहेका पर्यटकिय सम्भावना बोकेका स्थलहरुलाई गाउँपालिकाले ओझेलमा पर्न दिने छैन । ’

२३ बैशाख २०७७, मंगलवार ०९:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस