|  

स्थानीय तह निर्वाचन : धादिङको गजुरीमा श्रेष्ठलाई जित्ने अवशर, वस्नेतलाई साख जोगाउने चुनौती

२५ बैशाख २०७९, आईतवार २०:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


राजन अधिकारी/गजुरी
धादिङको गजुरी गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी सुरु भएको छ । अध्यक्षमा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका गणेशलाल श्रेष्ठलाई अघि सारेको छ भने एमालेले निवर्तमान अध्यक्ष राजेन्द्र विक्रम वस्नेतलाई पुनः दोहो¥याएको छ ।
अघिल्लो निर्वाचनमा वडा भागबन्डा मिलाउन नसकेकोले हार ब्यहोरेको काँग्रेस माओवादी गठबन्धनले भने यो वर्ष वडा भागबन्डा गरि गठबन्धनलाई बलियो बनाएको दाबि गरेको छ । यता एमालेले पुनः वस्नेतलाई टिकट दिएपछि एमालेको सक्रिय कार्यकर्ताहरु रुष्ट बनेका छन् । अघिल्लो पटक आफ्नै पार्टी र गठबन्धनको तालमेल मिलाउन नसक्दा हारेका श्रेष्ठलाई लामो रस्साकस्सीपछि माओवादीले गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा अघि सारेको हो । यो पटक जसरी पनि जित्नुपर्ने चुनौती श्रेष्ठलाई छ । सरसर्ती हेर्दा गठबन्धनको साझा उम्मेदवार गणेशलाल श्रेष्ठ बलियो देखिएका छन् । अघिल्लो निर्वाचनमा भन्दा गठबन्धन कसिलो बनेको र वस्नेतले गरेका कार्य प्रति जनता असन्तुष्ट रहेका कारण आफुले जित्ने श्रेष्ठको दावि छ ।
स्थानीय तहको निर्वाचन २०७४ मा धादिङको गजुरी गाउँपालिका प्रमुखमा नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेत र उपप्रमुखमा एमालेबाटै सिता ढुंगाना विजयी भएका थिए । गजुरीमा नेपाली कांग्रेस र माओवादी केन्द्र बीच चुनावी तालमेल भएको थियो, जसमा प्रमुखमा माओवादी र उप प्रमुखका कांग्रेसले उम्मेदवारी दिने सहमति गरेका थिए । तालमेल गरी उठेका उम्मेदवारलाई हराउँदै एमालेकाद्वय प्रमुखमा ४३३६ मतका साथ विजयी बस्नेत अहिले पनि एमालेमै छन, भने ४२१४ मतले विजयी ढुङ्गाना नेकपा एकीकृत समाजवादीमा छिन ।
२०७४ सालको निर्वाचनमा ३३० मतले विजय भएका वस्नेतको आफ्नै दाबी छ । गजुरी गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धनको सहमति भए पनि आफू नै पुनः दोहोरिने एमालेका उम्मेदवार वस्नेतको दाबी छ । सहमतिअनुसार कांग्रेसको सबै भोट माओवादीलाई नजाने उनी बताउँछन् । पहिलो पटक गरेको कामलाई हेरेर सबैले आफैंलाई मतदान गर्ने वस्नेत बताउँछन् ।
पालिकामा मात्र नभई वडामा पनि भागबन्डा मिलेकाले गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले चुनाव जित्ने आँकलन गर्न सकिन्छ । अघिल्लो निर्वाचनमा गजुरी गाउँपालिकाको ८ वडा वडा मध्ये २ वटा एकिकृत समाजवादी, २ वटा नेपाली काँग्रेस, २ वटा माओवादी केन्द्र र २ वटा एमाले बाट निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा केही व्यक्तिको अन्तर्घातका कारण थोरै मतान्तरले पराजित भएका श्रेष्ठलाई अहिले जितका लागि अवसर र चुनौती दुवै छ । एमालेका उम्मेदवार तथा निवर्तमान प्रमुख वस्नेतको पनि अघिल्लो कार्यकाललाई लिएर आलोचना त छ नै, साथै गठबन्धनका कारण चुनौती पनि छ । यसअघि जस्तै गठबन्धनका कांग्रेस र माओवादीभित्रै अन्तर्घात भएमा भने वस्नेत पुनः विजयी हुने धेरैको बुझाइ छ । अन्था केही नभएमा गठबन्धनका श्रेष्ठ विजयी हुने धेरैले आँकलन गरेका छन् ।

 

२५ बैशाख २०७९, आईतवार २०:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस