|  

प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकार संघ सरकारविरुद्ध आन्दोलनमा

३० श्रावण २०७९, सोमबार ०७:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलनमा उत्रेको छ । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित मन्त्रीहरू आइतबार बिहान साढे ११ बजेदेखि धर्नामा बसेका हुन् । पूर्वघोषित कार्यक्रमअनुसार आइतबारदेखि एक सातासम्म दैनिक दुई घन्टा प्रदेशका मन्त्रीहरू, सांसद तथा नागरिक समाजका अगुवा धर्नामा बस्ने कार्यक्रम छ ।

मुख्यमन्त्री राउतले प्रहरी समायोजनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूलाई लिखित तथा मौखिक रूपमा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएकाले आफूहरू धर्नामा बस्न बाध्य भएको बताए । संविधानको अनुसूची ६ को १ मा प्रदेश प्रहरी गठन तथा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारले गर्ने उल्लेख भए पनि त्यसको कार्यान्वयनमा संघीय सरकारले चासो नदिँदा दबाब दिने उद्देश्यले धर्ना कार्यक्रमको अयोजना गरिएको उनको भनाइ छ ।
‘प्रदेश सरकार गठन भएको झन्डै पाँच वर्ष हुन लागेको छ । हामीले प्रदेश प्रहरी ऐन बनाएको पनि दुई वर्षभन्दा बढी भइसकेको छ,’ राउतले भने, ‘संघीय प्रहरी ऐन र प्रहरी समायोजन ऐन पनि आएको करिब एक वर्ष नै भयो । तर, संघीय सरकारले यो विषयमा चासो दिएन ।’

३० श्रावण २०७९, सोमबार ०७:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस