|  

आज समानुपातिकको प्रारम्भिक बन्दसूची

३ आश्विन २०७९, सोमबार ०७:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


निर्वाचन आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउने कार्यतालिका बनाए पनि पहिलो दिन साना चार दलले मात्रै सूची बुझाएका छन् । दलहरूले १६ असोजसम्म बन्दसूची सच्याउन मिल्ने भएकाले अहिले बुझाइएका नाम अन्तिम भने हुनेछैनन् ।
प्रमुख दलहरूले ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार मात्रै बुझाउने भएका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउने कार्यतालिका बनाए पनि पहिलो दिन साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । सूची १६ असोजसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने हुनेछैन ।

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधिसभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउँछन् । यसअनुसार प्रतिनिधिसभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिन्छन् ।

बन्दसूची पेस गर्ने पहिलो दिन नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल खम्बुवान साझा पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची पेस गरेको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभा, प्रदेश सभाका लागि सूची बुझाउन आठ स्थल र १० कक्ष व्यवस्था गरिएको छ ।

बन्दसूची पेस गर्न सबैभन्दा पहिला नेपाल समावेशी पार्टीका अध्यक्ष मोतीलाल भारती आयोग पुगेका थिए । बिहान १०ः४५ मा आयोग पुगेका उनले प्रतिनिधिसभाको समानुपातिकतर्फमा ४६ जनाको नाम पेस गरेका थिए । त्यस्तै, तमलोपाले प्रतिनिधिसभा र मधेस दुवैतर्फको बन्दसूची बुझाएका छन् । प्रदेश १ बाट भने नेपाल खम्बुवान साझा पार्टी र बागमतीबाट ताम्सालिङ लोकतान्त्रिक पार्टीले बन्दसूची बुझाएका छन् ।

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेका छन् । यसैगरी गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको छ ।

बन्दसूचीका लागि निर्वाचन आयोगले तोकेको क्लस्टर
समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस–आर्य ३१.२%, आदिवासी जनजाति २८.७%, मधेसी १५.३%, दलित १३.८%, थारू ६.६% र मुस्लिम ४.४% समावेश गर्नुपर्नेछ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ । यसरी समावेश महिलाको संख्या दशमलवमा आए सोभन्दा माथिको पूर्ण संख्यामा नाम समावेश गर्नुपर्ने निर्वाचन निर्देशिकाको व्यवस्था छ । नयाँ पत्रिका दैनिकबाट ।

३ आश्विन २०७९, सोमबार ०७:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस