|  

गणतन्त्र, संघीयता, समावेशी समानुपातिक सहभागिता नै संविधानको मूल विशेषता हो – महरा

३ आश्विन २०७९, सोमबार १८:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ठ संविधान रहेको नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर महराले बताउनुभएको छ । ८ औँ संविधान दिवसको अवसरमा धादिङ बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महराले गणतन्त्र, संघीयता, समावेशी समानुपातिक सहभागिता नै अहिलेको संविधानको मूल विशेषता रहेको बताउनुभयो । यस्तैै महराले निरंकुश सत्ताको अन्त्यको निमित्त १० वर्षे जनयुद्ध भएको र त्यसकै फलस्वरुप देशमा आमूल परिवर्तन आएको बताउनुभयो ।
कार्यक्रमको अवसरमा गाउँपालिकाले सहिद बेपत्ता परिवारका साथै उत्कृष्ठ कर्मचारी सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामूख कृष्ण बहादुर महराको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र) बागमती प्रदेशका सह–सचिव विजय बुर्लाकोटी, जिल्ला संयोजक मनराज भण्डारी, बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष हरि डल्लाकोटी लगायत गाउँकार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, गाउँपालिका कर्मचारी, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाबाट जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने र बेपत्ता भएका परिवारजनलाई नगद सहित सम्मान गरिएको थियो भने गाउँपालिकाका ६ जना उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको थियो । कार्यक्रमको अवसरमा गाउँपालिका कार्यालयबाट चन्द्रोदय माध्यमिक विद्यालय प्राङ्गणसम्म प्रभातफेरी समेत गरिएको थियो ।

३ आश्विन २०७९, सोमबार १८:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस