|  

किन दुख्छ ढाड ? यी हुन् समाधानका उपाय

४ आश्विन २०७९, मंगलवार ०८:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


पछिल्लो समय ढाड दुख्ने समस्या भएका बिरामीको संख्या बढ्दो छ । बच्चादेखि वृद्धसम्म ढाडको समस्या लिएर अस्पताल आउने गरेका छन् ।
ढाड दुख्ने कारण
– अव्यवस्थित जीवनशैली, खानपिन, बसाइ नमिल्नुलगायतका कारणले ढाड दुख्ने समस्या हुने गर्छ । लामो समयमा एकै ठाउँमा बस्दा
तथा कुर्सीमा लामो समय बसिरहँदा ढाडदुख्ने समस्या हुन्छ ।
-ढाडको नसा च्यापिएमा पनि ढाड दुख्छ । लिगामेन्टमा हुने समस्या, स्पाइनल कर्डमा आउने समस्याका कारण पनि ढाड दुख्ने हुन सक्छ ।
– पेटमा हुने समस्या, दिसा–पिसाबमा हुने इन्फेक्सन आदिका कारण पनि ढाड दुख्ने हुन्छ । अर्काे, तौल धेरै भएको मान्छेमा, मधुमेह, मोटोपना, तनाव, गर्भवती महिला, स्पाइनको क्यान्सर, किड्नीको इन्फेक्सन आदिका कारण ढाड दुख्छ ।
– पित्तथैलीमा स्टोन छ भने पनि ढाड दुख्ने समस्या हुन्छ ।
– वृद्धावस्थाका मानिसमा ढाडको हड्डी खिइने, हड्डी पातलो हुने कारण ढाडमा समस्या देखा पर्छ । वृद्धहरूको स्पाइनल कर्डछेउको भाग साघुँरो हुँदै जान्छ, त्यसैले ढाड दुख्ने समस्या हुन्छ ।
– कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्ने मान्छेमा ढाड दुख्ने समस्या देखिने गरेको छ ।
समाधानका केही उपाय
– साधारण कारणले ढाड दुखेको छ भने फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।
– मेरुदण्डमा समस्या भएको, नसा च्यापिएको, मासु च्यापिएको, डिस्क निस्केको जस्ता समस्या एक्सरे, सिटी स्क्यान, एमआरआईबाट थाहा हुन्छ । बोन स्क्यान गर्दा पनि हड्डीमा भएका स–साना समस्या थाहा पाउन सकिन्छ । यसका लागि पनि एक्सारसाइजहरू गर्‍यो भने पनि ठीक हुन सक्छ । यसले पनि काम गरेन भने समस्याको प्रकृति हेरेर अप्रेसन पनि गर्नुपर्ने हुन्छ ।
– सामान्य समस्या छ भने थेरापी गर्ने, दुई हप्ताजति घरमा आराम गर्ने, दुखेको ठाउँमा आइस प्याक राख्ने गर्दा पनि दुखाइ कम हुन्छ ।
– पिसाब, दिसा र रगतको जाँचबाट पनि मेरुदण्डमा हुने समस्या थाहा पाउन सकिन्छ । मेरुदण्डमा दुई किसिमको दुखाइ हुन्छ– ‘एक्युट पेन’ र ‘क्रोनिक पेन’ ।
एक्युट पेन तीन महिनापछि आफैँ सन्चो हुन्छ । क्रोनिक पेन तीन महिनाभन्दा बढी हुन सक्छ । यो दुखाइ अलि खतरनाक
हुन सक्छ ।
– शारीरिक व्यायाम गर्दा, अल्ट्रासाउन्ड थेरापी गर्दा पनि दुखाइ कम हुन्छ । धेरै दुखाइ छ भने इन्जेक्सन लगाएर केही समयका लागि दुखाइ कम गर्न सकिन्छ । यसले ३ देखि ६ महिनासम्म काम गर्छ । नसा धेरै च्यापिएको छ भने सर्जरी गर्नुपर्ने हुन सक्छ ।
बच्न के गर्ने ?
लामो समयसम्म एकै ठाउँमा बस्न हुँदैन । एक घन्टा लगातार कुर्सीमा बसियो भने ५–१० मिनेट हिँड्नुपर्छ ।
अगाडि धेरै झुकेर काम गर्नेमा ढाड दुख्ने समस्या हुन सक्छ । त्यसैले निहुरिएर केही काम गर्नुपरे अथवा सामान उठाउनुपरे बिस्तारै उठाउनुपर्छ ।
शरीरमा क्याल्सियमको कमी भयो भने पनि ढाड दुख्छ । त्यसैले क्याल्सियम भएका खानेकुरा (दूध र यसबाट बन्ने खानेकुरा) प्रशस्त खानुपर्छ । शारीरिक व्यायाम अत्यावश्यक छ । नयाँ पत्रिका दैनिक बाट ।

४ आश्विन २०७९, मंगलवार ०८:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस