|  

दसैँमा दुई सय लक्जरी बस थप्दै व्यवसायी, अस्तव्यस्त सडकमा नयाँ गाडी चलाउँदा बिग्रने चिन्ता

६ आश्विन २०७९, बिहीबार ०७:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


दसैँका लागि व्यवसायीले दुई सय नयाँ लक्जरी बस थप्ने भएका छन् । दसैँलाई लक्षित गर्दै निजी लगानीमा नयाँ बस थप्न लागेको व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार दसैँमा थप्न लागिएका एसी सुविधासहितका डिलक्स बस लामो दूरीमा सञ्चालन हुनेछन् । यसअघिका दसैँमा व्यवसायीले करिब चार सय नयाँ बस थप्थे । तर, यसपटक बैंकले ऋण नदिँदा नयाँ बस थप गर्न समस्या भएको व्यवसायीले बताए ।

थपिन लागेका नयाँ बस मुख्यतः काठमाडौं हुँदै लामो दूरीमा गुड्नेछन् । ती बस पूर्व–पश्चिम सडकखण्डमा सञ्चालन गरिनेछ । त्यस्तै, केही बस पोखरा र विराटनगर रुटमा पनि गुड्नेछन् । थप गर्न लागिएको नयाँ दुई सय लक्जरी बसले केही सहज हुने व्यवसायीको विश्वास छ । हरेक वर्ष दसैँका वेला यात्रुले सिट नपाएर कोचाकोच यात्रा गर्नुपर्ने बाध्यता छ ।

यातायात व्यवस्था विभागका अनुसार साना–ठूला गरी देशभर यात्रुवाहक सवारीसाधनको संख्या साढे तीन लाख छ । यसमध्ये मिनीबस र ठूला बसको संख्या झन्डै एक लाख २० हजार छ । त्यसमा पनि एसी सुविधा भएका डिलक्स बसको संख्या दश हजारभन्दा धेरै छ । तर, यतिले मात्रै दसैँको वेला थेग्दैन ।विभागका अनुसार दसैँको वेला दैनिक सात हजार लामो दूरीका बस गुड्छन् । रुट फ्री हुने भएकाले एउटै गाडी पटक–पटक ओहोरदोहोर गराइन्छ । यसबाहेक अन्य तीन हजार मध्यम दूरीका बस पनि छन् । यी सबैखाले यात्रुवाहक सवारीसाधनमा दसैँको वेला करिब २० लाख मानिसले उपत्यका छाड्छन् ।

अर्कोतर्फ अस्तव्यस्त सडकमा नयाँ गाडी चलाउँदा बिग्रन सक्ने व्यवसायीलाई चिन्ता छ । हाल लामो दूरीका अधिकांश सडकखण्ड खाल्टाखुल्टी र अव्यवस्थित छन् । महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले हरेक वर्ष दसैँमा सरकार र व्यवसायीबीच यातायात व्यवस्थित पार्नेबारे छलफल र समन्वयको अभाव देखिने गरेको सुनाए । सडक व्यवस्थित पार्ने मुख्य जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो । तर, यसपटक सडक मर्मत गर्नेबारे मन्त्रालयले व्यवसायीसँग छलफल नगरेको सिटौलाको गुनासो छ ।

‘दसैँका वेला सरकारको जिम्मेवारी यातायात र सडकमा देखिनुपर्ने हो । तर, सरकारले यी दुईवटै विषयमा चासो दिँदैन । यही कारण घर फर्कनेले दुःख पाउँछन्,’ सिटौलाले भने, ‘यातायातधनी र व्यवसायीको मात्रै भर पर्नुपर्ने सर्वसाधारणलाई बाध्यता छ । सरकारले मध्यस्थकर्ताको भूमिकाचाहिँ निभाउनुपर्ने हो ।’ सडक व्यवस्थित पार्नेबारे सरकारले व्यवसायीसँग हालसम्म छलफल र सडक मर्मत नगरेको गुनासो छ । ‘अहिले सरकारले यातायात व्यवस्थापनमा आफ्नो उपस्थिति देखाएको छैन,’ यातायात व्यवसायी मधुराम अधिकारीले भने, ‘दसैँका वेला सरकारले कम्तीमा अस्थायी रूपमा भए पनि सडक व्यवस्थित पारिदिनुपर्छ ।’

अस्तव्यस्त सडक बनाउन बेवास्ता
दसैँ नजिकिएसँगै घर जाने यात्रुको चाप सडकमा अत्यधिक देखिन्छ । घटस्थापनादेखि उपत्यका छाड्नेको भिडभाड हुन्छ । अझ फूलपातीदेखि दैनिक दुई लाख यात्रुले उपत्यका छाड्छन् । त्यस्तै, मध्यम दूरीका लागि यात्रा गर्ने यात्रुको चाप पनि बढी हुन्छ । तर, दसैैँमा घर फकर्नेहरूले सबैभन्दा धेरै दुःख यात्रामा भोग्नुपर्छ । सरकारले सहज रूपमा यातायात र सडक व्यवस्थापन नगर्दा दसैँमा घर फर्कने यात्रुहरू जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य हुने गरेका छन् । ‘बस छन्, तर ती बस गुडाउने राम्रो सडक छैन, अझ दसैँको वेलामा दुर्घटना दर पनि उस्तै हुन्छ,’ महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘दसैँ नजिकियो, तर सरकारले बिग्रेका सडक बनाउन टेरेको छैन ।’

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकखण्ड पछिल्लो दुई वर्षदेखि अस्तव्यस्त छ । सडक फराकिलो र कालोपत्रे गर्ने ठेक्का लगाएको दुई वर्ष भए पनि हालसम्म सडक चौडा पार्ने काम सकिएको छैन । अधिकांश पिच सडक भत्काइएको छ । हाल धुुलाम्य, हिलाम्य र खाल्टाखुल्टी सडकबाट सवारीसाधन ओहोरदोहोर गर्छन् । निर्माण कार्य भइरहेका कारण कतिपय अवस्थामा ठेकेदारले एकतर्फी लेन मात्रै सञ्चालन गर्छन् । अहिले नारायणघाटदेखि बुटलब पुग्न कम्तीमा पनि ६–७ घन्टा लाग्छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले दसैँको वेला एकापट्टि काम भइरहे पनि अर्कोपट्टि सवारी गुड्न दिइने बताए । तर, अस्थायी रूपमा पिच गर्न भने नसकिने उनको भनाइ छ ।

तथ्यांकमा दसैँको यात्रा

दसैँका लागि व्यवसायीले एसी सुविधासहितका दुई सय नयाँ लक्जरी बस थप्ने
थपिन लागेका नयाँ बस मुख्यतः काठमाडौं हुँदै लामो दूरीमा गुड्ने
साना–ठूला गरी देशभर यात्रुवाहक सवारीसाधनको संख्या साढे तीन लाख
मिनीबस र ठूला बसको संख्या झन्डै एक लाख २० हजार
एसी सुविधा भएका डिलक्स बसको संख्या दश हजारभन्दा धेरै
दसैँको वेला गुड्छन् दैनिक सात हजार लामो दूरीका र तीन हजार मध्यम दूरीका बस
सबैखाले यात्रुवाहक सवारीसाधनमा दसैँको वेला करिब २० लाख मानिसले छाड्छन् उपत्यका
अस्तव्यस्त सडकमा नयाँ गाडी चलाउँदा बिग्रन सक्ने व्यवसायीलाई चिन्ता
हरेक वर्ष दसैँका वेला यात्रुले सिट नपाएर कोचाकोच यात्रा गर्नुपर्ने बाध्यता, दुर्घटनाको पनि जोखिम

नायाँ पत्रिका दैनिक बाट ।

६ आश्विन २०७९, बिहीबार ०७:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस