|  

नागरिकता विधेयकमा राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गरेको एमालेकाे टिप्पणी

६ आश्विन २०७९, बिहीबार ०७:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


एमालेले नागरिकता विधेयकमा राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गरेको टिप्पणी गरेको छ । गठबन्धनका चार दलले वक्तव्य जारी गर्दै राष्ट्रपति विद्या भण्डारीलाई विवादमा तान्न खोजेको विषयप्रति एमालेले गम्भीर आपत्ति जनाएको छ । नेताहरूले विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयबारे व्यक्तिगत रूपमा प्रतिक्रियामार्फत पार्टी धारणा सुनाए पनि एमालेले औपचारिक वक्तव्यमार्फत संस्थागत टिप्पणी वा कुनै निर्णय भने नगर्ने भएको छ । राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गरेको विषयलाई स्वागत र विरोधमा वक्तव्यबाजी गर्ने कुराले संस्थालाई विवादमा तान्ने र राज्य प्रमुखको मर्यादा र गरिमा कमजोर हुने एमाले नेताको भनाइ छ ।
सत्तारूढ गठबन्धन अहिले राष्ट्रपति संस्थालाई कमजोर बनाउने काममा लागेको एमाले नेताको आरोप छ । ‘नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपतिले संविधानको मर्म र भावनासँगै आमनेपाली जनताको भावनालाई पनि प्रतिबिम्बित गर्ने गरी संरक्षक र पालकको जिम्मेवारी निर्वाह गर्नुभएको छ,’ स्थायी समिति सदस्य शेरबहादुर तामाङले नयाँ पत्रिकासँग भने, ‘त्यसैले गठबन्धनको बैठक बसेर राष्ट्रपतिले निर्वाह गरेको जिम्मेवारीमाथि अमर्यादित तरिकाले छलफल गर्ने, लाञ्छना लगाउने र वक्तव्यबाजी नै जारी गरेर विवादमा तान्ने क्रियाकलाप गलत र आपत्तिजनक छ ।’
एमाले समर्थन वा विरोधमा औपचारिक रूपले वक्तव्यबाजी गर्ने पक्षमा नरहेको तामाङले प्रस्ट्याए । सत्तागठबन्धन प्रतिक्रियात्मक बनेर विरोधमा जाँदा उनीहरूकै लागि प्रत्युत्पादक बन्दै जाने र त्यसले आफ्नो पार्टीको लोकप्रियता बढ्ने भएकाले चुनावको संघारमा औपचारिक टिप्पणीतिर नलाग्न नेताहरूले नेतृत्वलाई सुझाएका छन् । सोही कारण विधेयकका सवालमा अधिकांश नेताहरूले औपचारिक प्रतिक्रिया दिनसमेत रुचाएका छैनन् ।
राष्ट्रपतिले पुनर्विचारका लागि संसद्मा पठाइएको विधेयक जस्ताको त्यस्तै पारित गर्ने गठबन्धनको निर्णयमा पनि एमालेले आपत्ति जनाएको थियो । पुनर्विचार प्रस्ताव प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रस्तुत हुँदा एमालेले आफ्नो मत दर्ज गरेको थियो । विधेयक बहुमतले पारित भएको थियो ।
एमाले कार्यकर्ताको राष्ट्रपतिको पक्षमा प्रदर्शन
एमाले भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ र अनेरास्ववियु नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयको समर्थन गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । संघका पूर्वअध्यक्ष महेश बस्नेत, संघका अध्यक्ष किरण पौडेलसहितको युवाहरूको टोलीले नयाँ बानेश्वर क्षेत्रमा राष्ट्रिय झन्डासहित राष्ट्रपतिको कदमको समर्थन गर्दै प्रदर्शन गरेको थियो । त्यस्तै, अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको छ । नयाँ पत्रिका दैनिक बाट ।

६ आश्विन २०७९, बिहीबार ०७:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस