|  

चुनावी मैदानमा पूर्वप्रहरी अधिकारी

२४ आश्विन २०७९, सोमबार ०६:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


तीन दशक सुरक्षा निकायमा काम गरी उच्च पदबाट अवकाश पाएका प्रहरी अधिकारीहरू चुनावी प्रतिस्पर्धामा होमिएका छन् । पूर्वप्रहरी महानिरीक्षकसहितका विगतका चर्चित प्रहरी अधिकारी चुनावी दौडमा लागेका हुन् ।

सुशासन पार्टी नेपालका अध्यक्षसमेत रहेका चर्चित पूर्वप्रहरी अधिकारी रमेश खरेलले काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनले उम्मेदवारी दिएको क्षेत्रमा कांग्रेसबाट प्रकाशमान सिंह, राप्रपाबाट रवीन्द्र मिश्र तथा घन्टी चुनाव चिह्नमा पुकार बम प्रतिस्पर्धामा छन् ।

राजनीतिमा अपराधीकरण र माफियाकरण बढेकाले टुलुटुलु हेरेर बस्न नसकी आफू राजनीतिमा आएको खरेल बताउँछन् । ‘०४६ सालपछि राजनीतिमा अपराधीकरण र भ्रष्टाचार अति नै भो, त्यो थाहा पाएर पनि थाहा नभएजस्तो गरेर बस्न नसकेकाले म सुशासनको नारासहित सक्रिय राजनीतिमा आएको हुँ,’ उनले भने ।

साढे दुई वर्षअघि प्रहरी महानिरीक्षक पदबाट अवकाश पाएका सर्वेन्द्र खनाल नेकपा (एमाले)बाट चुनाव लड्दै छन् । गत महिना मात्र एमाले प्रवेश गरेका उनले काठमाडौं– ६ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । सो क्षेत्रमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।

पूर्वडिआइजी नवराज सिलवालले सक्रिय राजनीतिमा पाँच वर्ष बिताइसकेका छन् । ०७४ मा प्रहरी सेवाबाट राजीनामा दिएलगत्तै उनी एमालेमा आबद्ध भएर ललितपुर– १ बाट चुनाव पनि जिते । यो वर्ष पनि उनी सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा कांग्रेसका उदयशमशेर राणालाई सिलवालको प्रमुख प्रतिस्पर्धी ठानिएको छ ।

पूर्वआइजिपी ध्रुवबहादुर प्रधानले पश्चिम नवलपरासी २ मा उम्मेदवारी दर्ता गरेका छन् । उनी राप्रपाबाट चुनावी मैदानमा छन् । जहाँ कांग्रेसबाट देवेन्द्रराज कँडेल तथा एमालेबाट दीपेन्द्र अधिकारी उनका प्रतिस्पर्धी छन् । करिब २० वर्ष सक्रिय राजनीति गर्दा पनि उनी संसद्मा पुग्न सकेका छैनन् ।

सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ पनि राजनीतिमा उत्रिएका छन् । काठमाडौं– ४ मा उनी राप्रपाको उम्मेदवारका रूपमा प्रतिस्पर्धामा होमिएका हुन् । यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका गगन थापा र एमालेबाट डा. राजन भट्टराई उम्मेदवार छन् । नयाँ पत्रिका दैनिकबाट ।

२४ आश्विन २०७९, सोमबार ०६:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस