यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन् ।
बिहीबार विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका नेता–कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै उनले ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले उनी बर्बराउँदै हिँडेको टिप्पणी गरे । ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेका बेलामा आफूले टक्कर दिएर सरकार ढालेको अध्यक्ष नेपालको भनाइ छ ।
सरकार ढलेपछि अहिले ओलीले उट्पट्याङ कुरा गरिरहेको भन्दै उनले उनका उट्पट्याङ कुराको संकलन गर्नुपर्ने बेला भएको उल्लेख गरे ।
ओलीले अरूलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हाबी भएपछि आफूले विद्रोह गर्नुपरेको अध्यक्ष नेपालले बताए । उनले एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप समेत लगाए । एमालेको आम्दानीको स्रोत भनेको लुट र भ्रष्टाचार रहेको उनको आरोप छ ।
“केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्यौँ । टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ । टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के–के उट्पट्याङ कुरा गरिरहेका छन्, यो त संकलन गर्नुपर्छ । के–के बोले अहिलेसम्म,” उनले भने, “झुटा, उनका कुराहरू भनेको आक्रोश, बदलाको भावना हो । उनको अरूलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति, पार्टी, राज्यभन्दा आफूलाई माथि ठान्ने प्रवृत्ति, पहिला पनि तानासाहीमा यो प्रवृत्ति थियो । त्यही प्रवृत्तिका वाहक ओली बन्न पुगे । आज उनले चुनावमा गरिरहेको खर्च हेर्न त, अर्बौँअर्ब कहाँबाट ल्याए, उनको पार्टीमा पैसा फल्ने रुख छ ? आम्दानीको स्रोत के हो ? लुट र भ्रष्टाचार हो । अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन् ।”