|  

शैक्षिक सुधार गर्दै लमजुङको राइनास नगरपालिका

२८ मंसिर २०७९, बुधबार १४:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लमजुङ, लमजुङको राइनास नगरपालिकामा शैक्षिक सुधार कार्यक्रम सञ्चालन भइरहेको छ । नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका कर्मचारीहरूले विद्यालय पुगेर त्यहाँको अवस्था बुझ्न थालेका छन् ।

नगरपालिका भित्रमा सबै विद्यालयमा पुगेर विद्यालयको अवस्था बुझ्ने, सरोकारवालाबीच छलफल गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुँयलले बताउनुभयो ।

उहाँका अनुसार एक सातादेखि विद्यालय अवलोकन भइरहेको छ । विद्यालय पुग्ने, अवस्था हेर्ने, शैक्षिक अवस्थाबारे शिक्षक, अभिभावकसँग छलफल गर्ने गरिएको छ । सामुदायिक र निजी विद्यालय दुवैको शैक्षिक गुणस्तरमा ध्यान दिँदै अभियान चलाएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव पूर्णबहादुर अछामीका अनुसार विद्यालय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयको अवलोकन तथा अनुगमनको काम भइरहेको छ । शैक्षिक गुणस्तर खस्कनुका कारण पत्ता लगाउने र समाधानका लागि कार्यक्रम सञ्चालन भएको छ । आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल गर्ने गरिएको छ ।
हालसम्म सातवटा विद्यालयमा अनुगमन भइसकेको छ । अन्य विद्यालयमा पनि जाने नगरपालिकाले जनाएको छ । अनुगमनको क्रममा नगरपालिका प्रमुख खड्गबहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुँयल, शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामी, शाखा अधिकृत पूर्णबहादुर नेपाली, सामाजिक विकास संयोजक बलराम पराजुलीलगायत पुगेका छन् ।
अनुगमनको विवरण नगर कार्यपालिकाको बैठकमा पेस गरिने छ । बैठकमा छलफलपछि थप कार्य अघि बढाइने नगरपालिकाले जनाएको छ । नगरपालिकामा ४१ वटा विद्यालय छन् । ३६ वटा सामुदायिक र ५ वटा निजी विद्यालय छन् । माध्यमिक विद्यालय ११ वटा छन् । एउटा निजी विद्यालय सञ्चालन भएको छैन । दैनिक जसो अनुगमनको काम भइरहेको नगर प्रमुख खड्गबहादुर गुरुङले बताउनुभयो ।
विद्यालयका लागि फारम समेत बनाइएको छ । विद्यालय पुगेर फारम भर्ने, छलफल गर्ने, राय सुझाव दिने गरिएको छ । त्यहाँको शैक्षिक, भौतिक, प्राकृतिक वातावरण, सामग्री, भवन, विज्ञान सामग्रीलगायत हेर्ने गरिएको छ । सहज रूपमा पठनपाठन भए/नभएको, समस्या भए/नभएको बारे जानकारी लिने गरिएको छ । समस्या भएका ठाउँमा सम्बोधन गरिने नगरपालिकाले जनाएको छ । गोरखापत्र दैनिकबाट ।

२८ मंसिर २०७९, बुधबार १४:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस