|  

मनसुन अवधि : १८ लाख व्यक्ति प्रभावित हुने आकलन

१० जेष्ठ २०८१, बिहीबार १३:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १०, काठमाडौँ । गृह मन्त्रालयले यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका १८ लाख बढी व्यक्ति प्रभावित हुने आकलन गरेको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा यस वर्षको मनसुन अवधिमा ४ लाख ४ हजार घरधुरीका १८ लाख एक हजार व्यक्ति प्रभावित हुने आँकलन गरिएको हो ।

यो गत वर्षको तुलनामा ६ लाखले बढी हो । २०८० सालको मनसुन अवधिमा प्राधिकरणले मनसुनजन्य विपद्‌बाट १२ लाख ५४ हजार व्यक्ति र २ लाख ८६ हजार घरधुरी प्रभावित हुने अनुमान सार्वजनिक गरेको थियो ।

प्राधिकरणको कार्यकारी समितिको बैठक बसेर २०८१ सालको कार्ययोजनालाई अन्तिम रुप दिन भने बाँकी छ । प्राधिकरणको कार्यकारी समितिको बैठक गृहमन्त्रीको अध्यक्षतामा बस्छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी गर्मी र सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणको आधारमा विपद् प्राधिकरणले प्रभावित हुनसक्ने जनसंख्या अनुमान गर्दै प्रतिकार्य योजना बनाएको हो ।

१० जेष्ठ २०८१, बिहीबार १३:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस