|  

जनकपुरधाममा छठका लागि चार करोडको केरा आयात

१ मंसिर २०८०, शुक्रबार १३:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।

छठमा सिङ्गै केराको घरी भगवान्लाई अघ्र्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । “गत वर्ष रू पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो”, उनले भने, “यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।”

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग,मिरिचमान,चिनी चम्पा जातका केरा भारतको आसाम,गोहाटी,बङ्गाल,हाजिपुर,ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए ।

१ मंसिर २०८०, शुक्रबार १३:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस