|  

पाँचथर हत्याकाण्ड बारे प्रहरी को निष्कर्ष

१७ जेष्ठ २०७६, शुक्रबार १९:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १७, पाँचथर
गत जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउपालिका–३ आरुबोटेको २ घरमा भएको विभत्स हत्याकाण्ड मानबहादुर माखिमले नै गरेको प्रहरीको स्थलगत अनुसन्धानले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

घटनाको स्थलगत अनुसन्धानले विभत्स हत्या भएको अर्काे दिन जेठ ७ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका मानबहादुर माखिमले नै सबैको हत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रहरीका अनुसार घटना स्थलमा भेटिएको खुकुरी आत्महत्या गरेका माखिमको रहेको थियो । त्यस्तै माखिमले झुण्डिन प्रयोग गरेको डोरीसँग मिल्ने डोरी पनि माखिमकै कोठामा भेटिएको थियो ।

माखिमले प्रयोग गरेको मोबाइल पनि त्यस समयमा घटनास्थल आसपास नै लोकेसन देखिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँलले बताउनुभयो । स्थलगत अनुसन्धानमा फेला परेका प्रमाणलाई आधार मान्दै अहिलेसम्म माखिमकै मात्र संलग्नता देखिएको कुवँरको भनाइ रहेको छ ।

प्रहरीले शंका गरेका व्यक्ति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । एकै रातमा ९ जनाको विभत्स हत्या गरेर माखिमले अर्काे दिन झुण्डिएर आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

जेठ ६ गते २ घरमा भएको कारुणिक हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनका श्रीमती पुर्सिमाया फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया श्रेयाको हत्या भएको थियो । यस्तै ४१ वर्षीय धनराज शेर्मासहित उनका परिवारहरु ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको हो । बमबहादुर र धनराज ज्वाइँ, ससुरा हुन् ।

घटना स्थलमा भेटिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रयोगशालाको रिपोर्ट आएपछि घटनामा अरुको पनि संलग्नता छ/छैन भन्ने खुल्ने प्रहरीले वताएको छ ।

१७ जेष्ठ २०७६, शुक्रबार १९:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस