यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
पोखरेलले रिबन काटेर सेवा सञ्चालन गरेपछि उनलाई राखेर बिजुली बस पुलिस क्लबबाट सहिद गेट, सुन्धारा, रत्नपार्क हुँदै एक फन्को मारेर पुनः पुलिस क्लबमै आएको थियो। सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार पहिलो चरणमा चारवटा बस सञ्चालन गरिने छ। विद्युतियबस सुरुमा रिङरोडमा चलाइने उनले बताए।
सरकारले विद्युतीय बस सञ्चालन गर्न विभिन्न ठाउँमा चार्जिङ स्टेसन नराखिदिएको अध्यक्ष थापाले बताए। अहिले यातायातले तीन ठाउँमा चार्जिङ स्टेसन राखेको छ। थप चार ठाउँमा स्टेसन राख्न तयारी भइरहेको थापाले बताए। विद्युतीय बसको प्रयोगले प्रेट्रोलियम पदार्थको संकट र प्रदूषण घटाउने भएकाले उपयोगी हुने उनको दाबी छ।
बस एकपटक चार्ज गरिसकेपछि २६८ किलोमिटरसम्म गुड्न सक्छ। अहिले ल्याएका बस दुई साइजका छन्। एउटा ४० सिट क्षमताको र अर्को ३० सिट क्षमताको छ।
आउँदो एक महिनामा सुन्दर यातायातले १८ विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ। ११ वटा थप बस खरिद भइसकेको छ। बाटोको अवस्था र भित्री रुट पत्ता लगाएर यी बस सञ्चालनमा ल्याउने तयारी छ।
रिङरोड बाहेक नारायणस्थानबाट मेडिसिटी, गोङ्गबुबाट सूर्यविनायक, कलंकीबाट जोरपाटी, तीनकुने, विमानस्थल, त्रिपुरेश्वर कुदाउने योजना रहेको अध्यक्ष थापाले बताए। अहिले ल्याएका विद्युतीय बस चीनबाट ल्याइएको हो। सुन्दर यातायातको ११ करोड र चाइनिज बिएके कम्पनीको थप ७५ प्रतिशत लगानी रहेको थापाको भनाई छ।
नेपाल सरकारको चालु भाडा दर अनुसार नै विद्युतीय बसमा भाडा लिइने थापाले बताए। तर सरकारले तोकेको भाडादरमा २० प्रतिशत छुट यात्रुलाई उपलब्ध गराउने उनले जानकारी दिए।