|  

काँग्रेसभित्र झगडा : पार्टीको महाधिवेशन कि चुनाव ?

७ फाल्गुन २०७७, शुक्रबार २१:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाली कांग्रेसले संसद विघटन विरोधी आन्दोलनको दोस्रो चरण पूरा गरिसकेको छ। फागुन ३ गते ७७ वटै जि ब्यापक जनप्रदर्शन सहित विरोध सभा गरेको कांग्रेसले अब अर्को चरणको आन्दोलन थाल्छ या थाल्दैन निक्र्यौल भैसकेको छैन। दुई चरणमा वडा तहदेखि जिल्लाब्यापी आन्दोलन गरिसकेको कांग्रेसका लागि आन्दोलन ‘बाध्यता’ जस्तै बन्न पुग्यो। सडकमा संसद विघटनको विरोधमा नारा लगाइएपनि उसले ठोकुवा गरेर भन्न सकेन ‘संसद विघटन असंवैधानिक कदम हो।’

दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत जिल्लामा फागुन ३ गते भएको विरोधसभामा नेताहरुबाट आएको अभिव्यक्तिले पनि यसको पुष्टि गर्यो। कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले संसद विघटन गरेर सरकारले ‘संविधानको हत्या’ गरेको बताएलगत्तै अर्की केन्द्रीय सदस्य पार्वता डिसी चौधरीले भने कांग्रेसले चुनावको विरोध गर्न नहुने बताइन्। विरोधका लागि आयोजना गरिएको विरोधसभामा संसद विघटनको समर्थनयुक्त मन्तव्यले कार्यकर्ता पङ्क्तिबाट पनि उनको आलोचना भयो। सम्बोधनका क्रममा उनले भनेकी थिइन्, ‘मैले बुझ्न नसकेको कुरा कांग्रेसले किन चुनावको विरोध गरिरहने? हामी चुनावमा जान किन नसक्ने?’

केन्द्रीय सदस्य चौधरीको यो भनाईले विरोधसभामा सहभागीहरुलाई अन्यौलता पैदा गराएको बुझेका अर्का केन्द्रीय सदस्य दीपक गिरीले चौधरीको भनाईलाई लक्षित गर्दै भने, ‘यहाँ कसले के भन्यो त्यसप्रति तपाईहरुले ध्यान नदिनुहोस्, कांग्रेस संसद विघटनको विरोधमा छ, विरोधमा रहन्छ, यो बाहेक अरु कुरा केहि नसोच्नुस्।’

संसद विघटनका पक्ष र विपक्षमा कित्ता क्लियर गरेका कांग्रेसको संस्थापन पक्ष र इतर पक्षले संसद विघटनको मुद्दालाई ‘शक्ति सञ्चय’ को लडाईका रुपमा लिन थालेको प्रष्टै छ।  कांग्रेस केन्द्रीय तहका नेताहरुका अनुसार कांग्रेस भित्र उठेको संसद विघटनको मुद्दा चुनाव या पार्टीको महाधिवेशन? भन्ने प्रश्नसँग जेलिएको छ। संस्थापन समुह मध्यावधि चुनावको सम्भावित नतिजालाई टेकेर पार्टीको बागडोर पुनः सम्हाल्ने दाउमा छ भने संस्थापन इतर समुहले कांग्रेस भित्रको ‘देउबा राज’ तोड्नका लागि चुनाव नभई पार्टीको महाधिवेशनमा जानुपर्ने जोडबल गरिरहेको छ।

कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालकाअनुसार संस्थापन पक्षले चुनाव भए पार्टीभित्र आफ्नो दबदबा पुनः कायम रहने भएकाले जसरी पनि चुनाव होओस् भन्ने पक्षमा छ।

सरकारले तोकेको आगामी वैशाख १७ र २७ मै चुनाव हुनुपर्ने भित्री मनसायमा रहेको देउबा समुहले चुनाव भैहालेको अवस्थामा कांग्रेसको जीत सुनिश्चित देखेको छ। उक्त चुनावमा आउने बिजयी नतिजाले देउबालाई त्यो जितको श्रेय स्वाभाविकै रुपमा पर्न जान्छ। यसको सकारात्मक प्रभाव उनलाई पुनः पार्टीको नेतृत्व हाँक्ने अवसर जुर्नेछ।

‘देउबाजीले के चाहनु भएको छ, भने अहिले चुनाव भैहाल्यो भने चुनाव जितिन्छ र स्वाभाविकै रुपमा त्यो जितले मलाई पुनः सभापति बन्ने बाटो खुल्ला हुने छ भन्ने लागेको छ,’ उनले दाङमा सञ्चारकर्मीहरुसँग भने ‘फलतः उहाँले चुनाव जसरी पनि होओस् भन्ने चाहनु भएको छ।’ यसर्थ देउबाले पार्टीको १४ औँ महाधिवेशन अगावै सरकारले तोकेको चुनावको अपेक्षा गरिरहेका छन्।

तर, संस्थापन इतर समुहले भने संस्थापन पक्षको यो स्वार्थलाई राम्रैसँग बुझेको छ। फलतः उसले चुनाव हुनै नसक्ने अभिव्यक्ति दिएर कार्यकर्ता पङ्क्तिलाई देउबा स्वार्थबाट टाढै राख्न चाहेको छ। अतः अहिले चुनावको दाउ हेर्नुभन्दा पनि पार्टीले महाधिवेशनमा ध्यान केन्द्रीत गर्नुपर्ने यो समुहको भनाई छ। वर्तमान पार्टी सभापतिकै कारण कांग्रेस ‘ध्वस्त’ बनेको एकलौटी ‘चार्ज’ देउबामाथि लगाइरहेको यो समुहले चुनावमा नभई पार्टीको महाधिवेशनबाट कांग्रेसलाई पहिला सुधार्नुपर्ने अवस्था रहेको बताउँछ। फलतः यो समुहको ध्यान चुनावमा भन्दा पनि महाधिवेशनमा छ। ‘बैशाखमा चुनाव हुँदैन, अहिले चुनाव भैहाल्यो भने कसरी जितिन्छ? पार्टी सांगठकिन रुपमा मजबुत हुनुपर्दैन ?’ पार्टीका महामन्त्री डा. शशांक कोइरालाले नागरिकसँग भने ‘त्यो भएर नहुने चुनावको पछि लागेर कांग्रेसलाई ध्वस्त पार्न खोजिँदै छ, अहिले कांग्रेसको प्राथमिकता चुनाव हैन, पार्टीको महाधिवेशन हो।’

सांगठनिक रुपमा कमजोर रहेको कांग्रेसको महाधिवेशन चुनाव अगाबै हुनसके नेतृत्व सहजै आफ्नो भागमा आउने विश्वासमा यो समुह छ। फलतः संसद पुनःस्थापनाको मागलाई प्राथमिकतामा राखेर सडक आन्दोलनमा जानुपर्ने दबाब देउबा समुहलाई यो समुहले दिइरहेको छ। ‘स्वाभाविकै रुपमा चुनाव नभए त्यसको फाइदा पौडेल समुहलाई पर्न जान्छ,’ जिल्लाका एक कांग्रेस नेताले भने ‘चुनाव नभई पार्टी महाधिवेशन भयो भने अहिले कांग्रेसको संगठन कमजोर हुनुको दोषले देउबालाई घाटा लाग्छ नै।’

जिल्लागत रुपमा पनि संस्थापन र इतर समुहका नेताहरु बिच ‘प्रतिष्ठाको लडाइँ’ सुरु हुन थालेका छनकहरु देखिन थालेका छन्। ३ फागुनमा जिल्लामा भएको कार्यक्रममा आँफू देउबानिकट भएकै कारण शशांक कोइराला सहभागी कार्यक्रममा बोल्न नदिइएको भन्दै एक नेताले जिल्ला नेतृत्वप्रति गाली गलौजमै उत्रिए। उनले आफूलाई देउबा निकटस्थ मानेकै कारण कार्यक्रममा बोल्न नदिइएको आरोप लगाएनन् मात्रै दाङ कांग्रेस जिल्ला नेतृत्वका कारण ध्वस्त बनेको सार्वजनिक स्थलै आरोप लगाए।

नेतृत्वमा आफ्नो वर्चस्व पुनः कायम गर्ने मनसायले नै प्रदेश सरकारमा सरकारलाई समर्थन गर्ने दाउमा देउबा रहेको संस्थापन इतर समुहको दाबी छ। प्रदेश सरकारविरुद्ध नेकपाको प्रचण्ड–माधव समुहले हालेको अविश्वासको प्रस्तावविरुद्ध मतदान गर्ने देउबाको नियत प्रदेश सरकारमा आफ्नो भाग बन्डा खोज्नु नै रहेको महामन्त्री कोइराला बताउँछन्। उनले प्रदेश १ मा केपी ओली समुहलाई समर्थन गर्ने र बागमतीमा आफूले सरकारको नेतृत्व हत्याउने लक्षमा देउबा छन्। ‘प्रदेश १ मा उहाँको मान्छे छैन, बागमतीमा उहाँको आफ्नो मान्छे छन्, अनि उहाँले सरकारलाई समर्थन गरेर बागमतीमा आफ्नो प्रभाव पार्न खोज्नु भएको छ,’ महामन्त्री कोइरालाले भने।

प्रदेश सरकारको नेतृत्वमा आफू अनुकुलको व्यक्तिलाई पुर्याउन सकिए उक्त प्रदेशमा स्वतः आफ्नो प्रभाव जम्ने विश्वासमा देउबा छन्। तर, संस्थापन इतर समुहले भने देउबाको यो प्रस्तावलाई पनि अस्वीकार गर्दै आएको छ। उसले कांग्रेस प्रतिपक्ष रहेको र सरकारका बिरुद्धमा मतदान गर्नुपर्ने अडान लिइरहेको छ। ‘कांग्रेस प्रतिपक्ष हो, सरकारको विरोधमा मत हाल्नुपर्छ,’ महामन्त्री कोइरालाले भने ‘सरकारविरुद्ध मत हालेतापनि कांग्रेस प्रदेश सरकारमा जानुपनि हुन्न ।

७ फाल्गुन २०७७, शुक्रबार २१:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस