|  

एमालेले टुंग्यायो यी ठाँउमा उम्मेदवार, को–कहाँ बाट उठ्ने ? (सूचीसहित)

२७ चैत्र २०७८, आईतवार १९:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सत्ता गठबन्धन दल चुनावमा गठबन्धन गरेर जाने सहमतिमा पुगे पनि भागबण्डाको झमेलामा फस्दा प्रतिपक्षी दल एमाले भने धमाधम उम्मेदवार चयन गर्न कस्सिएको छ ।
छिटो–छिटो पार्टीमा सकभर सर्वसम्मत र विवादरहित उम्मेदवार चयन गर्ने र मतदाताका बीचमा उम्मेदवारसहित चुनावी प्रचारमा जुटिहाल्ने रणनीति बनाएको एमालेले एउटा महानगर, एउटा उपमहानगरपालिका, दुईटा नगरपालिका र दुई वटा गाउँपालिकाको उम्मेदवार अहिलेसम्म एमालेले सर्वसम्मत चयन गरिसकेको छ ।
६ महानगरपालिकामध्ये एमालेले एउटा महानगरपालिका ललितपुरमा सर्वसम्मत मेयरका उम्मेदवार चयन गरिसकेको छ । अन्य केही महानगरपालिकामा पनि स्थानीय पार्टी कमिटीबाट उम्मेदवार सिफारिस गरेर माथिल्लो कमिटीमा एमालेले पठाउन शुरु गरेको छ ।
ललितपुर महानगरको मेयरमा एमालेले गत स्थानीय निर्वाचनमा उम्मेदवार भई पराजित भएका हरिकृष्ण व्यञ्जनकारलाई नै पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । उपमेयरमा भने दुई जना प्रत्यासी देखिएकाले दुवैको नाम सिफारिस गरेर माथिल्लो कमिटीमा पठाइएको छ । महानगरपालिकामै एउटा भए पनि उम्मेदवार चयन सर्वसम्मत रुपमा गरेर उम्मेदवार छनोट गर्नेमा एमाले अग्रपंक्तिमा देखिएको छ।
एमालेले ११ वटा उपमहानगरपालिकका मध्ये यो समाचार तयार पार्दासम्म एउटा उपमहानगरपालिकामा पनि सर्वसम्मत उम्मेदवार चयन गरिसकेको छ । मधेस प्रदेशको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पनि एमालेले सर्वसममत उम्मेदवार छनौट गरेको छ । एमालेले शिवशंकर साह ९हिरा० लाई जनकपुर उपमहानगरपालिकामा सर्वसम्मत उममेदवार चयन गरेको हो ।
तर, सत्ता गठबन्धन दलका नेताहरूका बीचमा भने कुन महानगरपालिकाको मेयर ९नेतृत्व० कुन पार्टीलाई दिने भन्नेमा अझै अलमल देखिएको छ । खासगरी चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने या नदिने भन्नेमा कांग्रेसभित्रै चर्केको मतभेदका कारण महानगरको भागबण्डा कहिलेसम्म रु टुंग्गो छैन ।
एमालेले ललितपुर महानगरपालिकामा मात्रै होइन, गुल्मीको मुसिकोट नगरपालिकाको मेयर पनि सर्वसम्मत टुंग्गो लगाइसकेको छ । मुसिकोट नगरपालिकामा एमालले जीवन खरेललाई सर्वसम्मत रुपमा नगरपालिकाको मेयर उम्मेदवार छनोट गरिसकेको छ । उपमेयरमा भने आकांक्षी तीन जना देखिएकाले तीनै जनाको नाम माथिल्लो पार्टी कमिटीमा सिफारिस गरिएको एमालेले जनाएको छ ।
ओलीको गृहजिल्ला झापाको अर्जुनधारा नगर कमिटीमा पनि उमालेले मेयरका सर्वसम्मत उम्मेदवार टुंग्गो लगाएको छ । त्यहाँ मेयरका लागि पार्टीका नगर अध्यक्ष बलदेव गोम्देनलाई सर्वसम्मत उम्मेदवार छान्ने काम भएको एमालेले बताएको छ ।
त्यसैगरी, काभ्रेको एउटा गाउँपालिका र डोटीको एउटा गाउँपालिकामा पनि एमालेले सर्वसम्मत अध्यक्षका उम्मेदवार छनोट गरिसकेको छ । काभ्रेको चौँरी देउराली गाउँपालिका अध्यक्षमा गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष जितराम लामालाई एमालेले अध्यक्षको उम्मेदवार उठाउने सर्वसम्मत निर्णय गरेको छ । सोही गाउपालिकाको उपाध्यक्षमा सामाजिक अभियन्ता बबिता खरेललाई उम्मेदवार बनाउने पनि एमालेको सर्वसम्मत निर्णय गरिसकेको छ ।
उता, डोटीको जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने एमालेले पुरानैलाई दोहोर्‍याउने निर्णय सर्वसम्मत रुपमा गरेको छ । उक्त गाउपालिकाको अध्यक्षमा पुनः दुर्गादत्त ओझा र उपाध्यक्षमा पनि जमुना बोहरालाई नै उम्मेदवार बनाउने निर्णय पार्टीको गाउँपालिका कमिटीले सर्वसम्मत गरेको एमालेले जनाएको छ ।
त्यस्तै, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा सूर्यबहादुर शाहीलाई मेयर उम्मेदवार बनाउने निर्णय पनि एमालेले गरेको छ ।
चैत २९ गतेभित्र धेरै जसोमा उम्मेदवार सिफारिसको काम भइसक्ने जनाएको एमालेले वाग्मती प्रदेशमा पर्ने काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा उम्मेदवारको छनोट प्रक्रिया तीव्र गतिमा अगाडि बढाइरहेको छ । अन्य जिल्लामा पनि उसले आफ्ना उम्मेदवार चयनको कामलाई तीव्र रुपमा नै अगाडि बढाएको छ ।

५० बढी वडामा पनि टुंग्गियो उम्मेदवार

एमालेले ५० भन्दा बढी वडामा पनि वडाध्यक्षको उम्मेदवार छनोट सर्वसम्मत रुपमा चयन गरिसकेको छ । दैलेखका ३५ भन्दा बढी वडामा सर्वसम्मत वडाध्यक्षका उम्मेदवार चयन भइसकेको एमालेले जनाएको छ । त्यस्तै, सिन्धुपाल्चोक जिल्लाको हेलम्बुको ६ वडामा पनि एमालेले निर्विरोध वडाध्यक्षको उम्मेदवार चयन गरेको छ । त्यस्तै सिन्धुपाल्चोककै भोटेकोसी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, सुनकोसी, बलेफी, पाँचपोखरी थाङपालसहित अन्यमा पनि केही वडाध्यक्षहरू सर्वसम्मत चयन भइसकेको एमालेको भनाइ छ ।
एमाले दैलेखका अनुसार नौमुले गाउँपालिकाका आठ वडामा वडाध्यक्षका उम्मेदवार चयन भइसकेको छ । यस्तै, नारायण नगरपालिकाका ११ वडाका केही वडा, गुराँस गाउँपालिकाका करिब सबै वडा, डुंगेश्वर गाउँपालिकाका केही वडा, दुल्लुका आधाभन्दा बढी वडा, आठ बीसका तीन वडा, महावु गाउँपालिकाका सबै वडामा अध्यक्षका उम्मेदवार टुंगो लागेको एमालेले जनाएको छ ।

सत्ता गठबन्धनको एउटा गाउँपालिकामा मात्रै टुंग्गियो भागबण्डा

सत्ता गठबन्धन दलको भने एउटा गाउँपालिकामा मात्र अहिलेसम्म औपचारिक रुपमा भागबण्डा टुंग्गो लागेको छ । मेरोन्यूजलाई प्राप्त समाचारअनुसार गुल्मीको मालिका गाउँपालिकामा मात्रै अहिलेसम्म सत्ता गठबन्धनले भागबण्डा लगाएर अध्यक्षको उम्मेदवार छनौट भएको छ ।
मालिका गाउँपालिकामा अध्यक्षसहित २ वटा वडाध्यक्ष नेकपा माओवादी केन्द्र, कांग्रेसको भागमा उपाध्यक्षसहित ६ वटा वडाध्यक्ष भागमा परेको छ । गठबन्धन दलबाट अध्यक्ष पदमा माओवादी केन्द्र मालिका गाउँ कमिटी अध्यक्ष देविराम अर्याललाई उम्मेदवार बनाउने निर्णय सत्ता गठबन्धनको तयारी छ ।
नेकपा माओवादी केन्द्रको भागमा गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ८ परेको छ । बाँकी वडाहरू कांग्रेसको भागमा परेको छ । नेकपा एकीकृत समाजवादीको भागमा भने वडा सदस्यहरू मात्रै परेका छन् । साभार : मेरो न्युज डटकमबाट

२७ चैत्र २०७८, आईतवार १९:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस