|  

नेकपा माओवादी केन्द्र गजुरी ८ को प्रतिबद्धता

१६ बैशाख २०७९, शुक्रबार ०७:५६ प्रकाशित
प्रदेश हव न्युज डेस्क


आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह को निर्वाचन मा नेकपा माओवादी केन्द्र गजुरी ८ ले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ। यस्तो छ प्रतिबद्धता:

आदरणिय विकासप्रेमी आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु क्रान्तिकारी अभिवादन सहित नमस्कार ।
राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधान सभाको कार्यान्वयन माओवादी केन्द्रको अभियानलाई सफल बनाउन, समृद्ध, सबल र समतामुलक समाज निर्माणको संकल्प बोकेर हिँडेको, विकास निर्माण, सामाजिक सुरक्षा र सद्भावको अगुवा एवम् सम्पुर्ण जनसमुदाय बीचको आत्मिय सम्बन्धको प्रवाहक हामी सबैको प्यारो पार्टी नेकपा माओवादी केन्द्र तपाईहरुको घरआँगनमा प्रतिवद्धता–पत्रका साथ अमुल्य मतदानको अपेक्षा सहित उपस्थित भएका छौं ।

यस अघि सुरु भएका विकास निर्माण कार्यको निरन्तरता र पुरा गरिनेछ साथै दिर्घकालिन योजनाका माग फारम बस्तीबस्तीमा तुरुन्तै उपलब्ध गराउने छ र योजना मागका लागि निरन्तर पालिका, प्रदेश र केन्द्र धाउनछौँ ।

वडाले यसअघि प्रदान गर्ने सेवा सुविधालाई बिना कटौती निरन्तरता दिने छौँ ।

नितिगत शैक्षिक सुधारका कार्यक्रम पुर्ण कार्यान्वयन गरिनेछ र शैक्षिक संस्थाहरु निरन्तर अनुगमन, समस्या समाधानमा विज्ञहरूका सल्लाह अनुरूप शैक्षिक सुधारका कार्यक्रम ल्याइनेछ । प्राविधिक बिषयहरुको पढाइ सञ्चालनमा पहल गरिनेछ । हरेक महिनाको एकदिन “वडाध्यक्ष सँग विद्यालय” कार्यक्रम सञ्चालन गरिनेछ ।
विद्यालय नर्सको व्यवस्थापनमा पहल गरिनेछ ।

गरिब, जेहनदार, दलित एवम उत्कृष्ट बिधार्थीहरुलाई पुरस्कृत र निःशुल्क उच्च शिक्षाका लागि पहल गर्नैछौँ । बार्षिकरुपमा उत्कृष्ट तिन शिक्षकलाई वडा स्तरीय उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गर्नैछौँ ।

निर्माणको कार्य अन्तर्गत सडक सञ्जाल सँधै काम लाग्ने “बरु थोरै तर दिगो” अवधारणा अनुरुप सबै क्षेत्रबाट समानरुपमा गर्नेमा प्रतिबद्ध छौँ । ट्रयाक खोलिएका महत्वपूर्ण सडक बार्है महिना चल्ने गरि गार्भेल र नालीको व्यवस्थापन र पिचमा जोड दिईनेछ ।

उर्बर भुमी, सिँचाइको प्रशस्त सम्भावना, तरकारी उत्पादनको पकेट क्षेत्र, हामी आँफै किसान र किसानको छोराछारी भएकाले कृषिलाई नै रोजगारीको प्रमुख आयस्रोतको रुपमा व्यवसायीकरण गरिनेछ ।

किसानका समस्याहरु नजिकबाट नियाल्न पाएको छौँ त्यसकारण किसानलाई मल, बिउ र बजारीकरणको सुनिश्चितता हुनेगरी काम गर्ने छौँ, साथै उत्पादन लाई बजारीकरण गर्न “किसानकै खेत किसानकै पसल” अनुरुप किसान र काठमाडौं उपत्यकामा तरकारी तथा फलफुल व्यवसाय गर्ने किरान्चोकवासी खुद्रा व्यवसायीबिच समन्वयात्मक भूमिका निर्वाह गरिनेछ । हरेक महिनाको एकदिन वडाध्यक्ष सँग किसान कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रत्येक घरघरमा स्वच्छ खानेपानी, वडासदस्यज्यु मार्फत बृद्धभत्ता र मोबाइल स्वास्थ्य सेवाको व्यवस्थापन गरिनेछ ।

डिजिटल वडा र बडावासीको सम्पूर्ण लगत डिजिटल गरिनेछ ।

प्रत्येक वडावासीको खाद्य सुरक्षा र सुत्केरी तथा बालबालिका, नवजात शिशुहरूलाई पौष्टिक आहारको ग्यारेन्टीका साथ काम गरिनेछ ।

देशविदेश छरिएर बस्नुभुएका सम्पुर्ण बडावासीको योग्यता, दक्षता र रोजगारीको सम्पूर्ण लगत राखिनेछ र सम्पूर्ण दक्ष प्राविधिक मार्फत सल्लाह, सुझाव, कोचिङ र परामर्श सुविधा उपलब्ध गरिनेछ ।
वडामा स्थाई ठेगाना भइ विभिन्न पेशा व्यवसाय गर्न वडा बाहिर रहेका वडाबासीसँग जोड्न वार्षिक रुपमा “मातृभुमिका लागि एक दिन” कार्यक्रम आयोजना गरिनेछ ।
खेलमैदान, खेल सामग्री र राष्ट्रिय खेलाडी उत्पादनमाजोड दिनेछु ।
धार्मिक र एतिहासिक महत्वका स्थलहरु मठमन्दिर,चैत्य, बिहार, पाटी पौवा, चौतारो संरक्षण संवर्द्धन र पुनर्निर्माण गरिनेछ ।

पर्यटन प्रवर्द्धनको लागि वडाको माथिल्लो क्षेत्र अनुपम रहेकाले होमस्टेसहित पर्यटन प्रवर्द्धनको कार्यक्रम ल्याउनेछ ।
पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशिलता अनरुप वडाका प्रत्येक खर्च त्रैमासिक रुपमा सार्वजनिक गरिनेछ ।

हिजो,आज र भोली सदैव तपाईहरुकै घरदैलो, मेलापात र सम्पर्कमा हुनेछौँ र तपाईँको गुनासो सुनवाई, समस्या समाधान र सेवा गर्न हाम्रो टिम पुर्णरुपमा प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहान्छौँ ।

वडाको माथिल्लो भेग पाखुरेमा सहिद प्रेम तामाङ र साविकको वडा न. १ कोले चौरमा सहिद कमल बराल र किरण बरालको स्मृतिमा महान जनयुद्धका सहिदका नाममा शहिद पार्क निमार्ण गरिनेछ ।

आदरणीय वडावासी जनसमुदायहरु,
यहि बैशाख ३० मा हुन गई रहेको स्थानीय निर्वाचनमा तपाईको मनलाई गोलाकार भित्रको हँसिया हतौडामा मतको रुपमा परिणत गर्नेमा विश्वस्त छौँ र तपाईहरुलाई यो प्रतिवद्धता सहित हार्दिक अपिल गर्दछौँ ।

क्रान्तिकारी अभिवादन सहित नववर्ष २०७९ का वडाबासीमा
हार्दिक मंगलमय शुभकामना ।

१६ बैशाख २०७९, शुक्रबार ०७:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस